काठमाडौं,२७ वैशाख । भारतको जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको पाकिस्तानतर्फबाट भएको गोलीबारीमा मृत्यु भएको दाबी भारतले गरेको छ। भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा हवाई हमला गरेपछि उत्पन्न तनावका बीच भएको यस घटनाले क्षेत्रीय अवस्था झनै चर्किएको छ।
जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको पुष्टि गरेका हुन्।
‘राजौरीबाट दुःखद खबर आएको छ,’ उनले लेखेका छन्, ‘हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा पनि सहभागी भएका थिए।’
मुख्यमन्त्रीका अनुसार पाकिस्तानले राजौरी शहरमा लक्षित गरी गरेको आक्रमणमा थापाको घर निशानामा परेको थियो। यही गोलीबारीका कारण थापाको ज्यान गएको हो।
थप क्षतिको विवरण सार्वजनिक भएको छैन
हालसम्म अन्य क्षतिको विवरण सार्वजनिक गरिएको छैन। भारतीय सुरक्षाफौजले भने गोलीबारीको जवाफ दिएको जनाएको छ।
यस घटनालाई भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’ र **पाकिस्तानको जवाफी कारबाही ‘बुनयान उल मरसूस’**सँग जोडेर हेरिएको छ। पाकिस्तानी सेनाले भारतको उधमपुर एयरबेस, पठानकोट एयरफिल्ड र ब्रह्मोस मिसाइल भण्डारणस्थललाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

