चितवन । थकाली खानाका पारखीहरूका लागि भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा आजदेखि लिम्बा थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ। मुस्ताङको मौलिक स्वाद भरतपुरमै उपलब्ध गराउने उद्देश्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।
थकाली भाषामा ‘लिम्बा’ को अर्थ मिठो हुने र सोही भावनाअनुसार ग्राहकलाई वास्तविक थकाली खानाको स्वाद प्रदान गर्ने लक्ष्य राखिएको रेष्टुरेन्टका सञ्चालक कृष्ण पौडेल ले बताए।
उनका अनुसार मुस्ताङका अनुभवी दुई जना रैथाने कुकलाई रेष्टुरेन्टमा ल्याइएको छ। भरतपुरमा थकाली खाना सेवा सुरु गर्नुअघि सञ्चालक टोलीले मुस्ताङमै पुगेर लामो समय अध्ययन तथा अनुसन्धान गरेको थियो।
रेष्टुरेन्टमा प्रयोग हुने कालो दाल, जिम्बु, टिमुर, जेठोबुढो चामल लगायत थकाली खानाका प्रमुख सामग्रीहरू मुस्ताङबाटै ल्याइने पौडेलले जानकारी दिए। “ग्राहकलाई वास्तविक थकाली स्वाद दिन आवश्यक सबै सामग्री मुस्ताङबाटै ल्याएर प्रयोग गर्ने व्यवस्था मिलाएका छौं,” उनले भने।
यसअघि जापानी ढुंगामा पोलेको मासुको परिकार (हट स्टोन बार्बेक्यु) पस्केर चर्चा कमाएको टोलीले नै यस रेष्टुरेन्टमा लगानी गरेको हो। चार जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको रेष्टुरेन्टमा करिब डेढ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको बताइएको छ।
सञ्चालकका अनुसार थकाली खानाप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भरतपुरका उपभोक्तालाई गुणस्तरीय तथा मौलिक स्वाद उपलब्ध गराउने लक्ष्यका साथ ‘लिम्बा थकाली रेष्टुरेन्ट’ सञ्चालनमा ल्याइएको हो।





