✍️ सेतो नेपाल संवाददाता
चितवन, २४ जेठ । आदिवासी जनजाति उत्थान राष्ट्रिय परिषदको आर्थिक सहयोगमा तथा सङ्हाती समूहको आयोजनामा चितवनको भरतपुरमा सञ्चालित पाँचदिने महिला क्षमता अभिवृद्धि तथा उद्घोषणकला तालिम आज सम्पन्न भएको छ। तालिममा मेघौली र पटिहानी क्षेत्रका ३० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।
समापन समारोहमा प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानकी कार्यकारी सदस्य विष्णुकुमारी चौधरीले महिलाहरूको नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि अत्यावश्यक रहेकोमा जोड दिनुभयो। “यो तालिमले महिलाहरूलाई राजनीतिक, आर्थिक तथा सामाजिक रूपले सक्षम बन्न मद्दत पुर्याउनेछ,” चौधरीले बताउनुभयो। साथै, सिकेका सीपहरूलाई व्यवहारमा लागू गर्न पनि सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा थारु कल्याणकारिणी सभा, चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले चितवन जिल्लाभरि क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरू भइरहेका उल्लेख गर्दै थारु महिलाको नेतृत्व विकासलाई संस्था प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो। उहाँले आगामी दिनमा पनि सङ्हाती समूहसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
समापन कार्यक्रममा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ६ का सभापति राधा चौधरी, सहभागी प्रतिनिधिका रूपमा अमृता पावे र अनिशा महतोले तालिमको प्रभावकारिता र अनुभवबारे मन्तव्य राखेका थिए।
सङ्हाती समूहका अध्यक्ष फोहरी महतोको अध्यक्षतामा सम्पन्न तालिममा सञ्चारकर्मी सन्तकुमार चौधरी, अधिवक्ता संजय चौधरी र प्रोफेसर डा. संजय महतोले सहजीकरण गर्नुभएको थियो। तालिम नारायणगढको कमलनगरस्थित होटल ह्याप्पी होममा सम्पन्न गरिएको थियो।
तस्विरः सेतोनेपाल ।










