कालिका नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन स्थानीय तह घोषणा गर्ने तयारीमा

सन्तकुमार चौधरी-

चितवन । कालिका नगरपालिकाले आगामी २०८३ साल जेठ मसान्तभित्र सम्पूर्ण नगर क्षेत्रलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन भएको स्थानीय तह घोषणा गर्ने लक्ष्यसहित अभियानलाई तीव्र बनाएको छ। संविधानले सुनिश्चित गरेको प्रत्येक बालबालिकाको शिक्षाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ नगरपालिका वडा तहदेखि नै आवश्यक तयारीमा जुटेको हो।

नगरपालिकाको शिक्षा शाखाका अनुसार स्थानीय तह घोषणा गर्नुअघि नगरभित्रका सबै वडाहरूलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्नुपर्ने प्रावधान रहेको छ। सोहीअनुसार कालिका नगरपालिकाले आफ्ना ११ वटै वडामा विद्यालय उमेरका बालबालिकाको अवस्थाबारे विस्तृत अध्ययन, तथ्याङ्क संकलन तथा अभिलेखीकरण सम्पन्न गरेको छ।

वडा नम्बर ४ बाट सुरु गरिएको अभियानअन्तर्गत हालसम्म वडा नम्बर १, ४, ५, ७, ९, १० र ११ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिसकिएको छ। बाँकी वडाहरूमा समेत आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ। ती वडाहरू पनि छिट्टै घोषणा गरिने तयारी भइरहेको छ।

नगरपालिकाले ४ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको तथा विद्यालय बाहिर कुनै पनि बालबालिका नरहेको सुनिश्चित भएपछि मात्र सम्बन्धित वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दै आएको छ। यसका लागि घरधुरी सर्वेक्षण, विद्यालय अभिलेख परीक्षण तथा समुदायस्तरमा अनुगमनसमेत गरिएको छ।

घोषणा कार्यक्रमसँगै समुदायस्तरमा शिक्षाप्रति उत्तरदायित्व र स्वामित्व अभिवृद्धि गर्ने उद्देश्यले प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको छ। उक्त प्रतिबद्धता पत्रमार्फत वडावासीहरूले विद्यालय उमेरका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नदिने तथा नियमित विद्यालय उपस्थितिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

वडा स्तरमा आयोजना गरिएका कार्यक्रमहरूमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सरोकारवाला नागरिकहरूको उल्लेखनीय सहभागिता रहने गरेको छ। सहभागीहरूले शिक्षा विकासलाई स्थानीय सरकार, समुदाय र अभिभावकको साझा दायित्वका रूपमा लिँदै अभियानलाई सफल बनाउन ऐक्यबद्धता जनाइरहेका छन्।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्नु समृद्ध समाज निर्माणको आधार भएको बताउँदै अभियानलाई केवल घोषणा कार्यक्रममा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिइएको बताए। उनका अनुसार विद्यालय उमेरका प्रत्येक बालबालिकालाई विद्यालयमा भर्ना गराउने, नियमित अध्ययन सुनिश्चित गर्ने तथा बीचमै विद्यालय छोड्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले नगरपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी जेठ मसान्तभित्र सम्पूर्ण नगर क्षेत्रलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन भएको स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको बताए। उनले यस अभियानले नगरभित्र कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित नहुने वातावरण निर्माण गर्नुका साथै गुणस्तरीय र समावेशी शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

नगर उपप्रमुख विमला तामाङले नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको बताइन्। उनका अनुसार यो अभियान सुरु हुनुअघि नै नगरपालिकाले ‘मेयर एण्ड केयर’ तथा ‘उपमेयरसँग बालबालिका’ जस्ता कार्यक्रम सञ्चालन गर्दै बालबालिकाको शैक्षिक तथा समग्र विकासमा काम गर्दै आएको छ।

नगरपालिकाभित्र हाल ३३ वटा सामुदायिक तथा ११ वटा संस्थागत गरी कुल ४४ वटा विद्यालय सञ्चालनमा रहेका छन्। २०८२ साल चैत महिनामा संकलन गरिएको तथ्याङ्कअनुसार नगरपालिकामा अझै १६३ जना बालबालिका विद्यालय बाहिर रहेका छन्। तीमध्ये केही बालबालिका हाल विद्यालय भर्ना भइसकेका छन्।

नगरपालिकाको शिक्षा शाखाकी सविना श्रेष्ठका अनुसार विद्यालय बाहिर रहेका अधिकांश बालबालिका फरक क्षमता भएका छन्। हाल १६३ जना अपाङ्गता भएका बालबालिका विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेको तथ्याङ्क छ।

उनीहरूलाई शिक्षामा जोड्न प्रदेश सरकारले निर्धारण गरेको कार्यविधिअनुसार शैक्षिक सामग्री वितरणसहित विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।

सबै विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्दै क्रमशः सम्पूर्ण नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ कालिका नगरपालिका अघि बढिरहेको छ। स्थानीय सरकार, समुदाय, विद्यालय र अभिभावकको साझा प्रयासबाट उक्त लक्ष्य हासिल हुने विश्वास नगरपालिकाले लिएको छ।—00—

Share:

सम्बन्धित समाचारहरु