रेशम सापकोटा – सेतो नेपाल
माडी, ३ साउन । माडी — मन्दिर पुग्ने भक्तजनहरू प्रायः मौन हुन्छन्। त्यो मौनता केवल शब्दविहीनता होइन, एक गहिरो संवाद हो आत्मासँग, विश्वाससँग र परमशक्तिसँग। निधार ढोग्नु केवल एक भौतिक गतिविधि होइन, त्यो समर्पण हो। त्यही बेला जब गेटमै भनिन्छ, “पहिला शुल्क तिर्नुस्”, ती सबै मौन भावहरूमा धक्का लाग्छ — श्रद्धा करको रसिदमा परिणत हुन पुग्छ।
यस्तो स्थिति अहिले माडीमा देखिएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ बाट माडी नगर क्षेत्रका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा प्रवेश गर्नुपूर्व शुल्क तिर्नुपर्ने निर्णय लागू गरेको छ। पालिकाको तर्क छ — संरचनागत सुधार, व्यवस्थापन र स्रोत जुटाउन यस्तो व्यवस्था गरिएको हो।
नगर क्षेत्रभित्र पर्ने सोमेश्वरगढी, वैकुण्ठधाम, रेडहिल पार्क, पुष्पमदन बगैँचा, अयोध्याधाम (राम मन्दिर) र बाल्मीकि आश्रममा शुल्क दर फरक-फरक तय गरिएको छ। विदेशी, भारतीय, नेपाली तथा स्थानीय नागरिकका लागि छुट्टाछुट्टै दर तोकिएको छ।
सोमेश्वरगढी र वैकुण्ठधाम प्रवेश गर्न विदेशी नागरिकले रु. १००, भारतीयले रु. ८०, नेपालीले रु. ५०, र स्थानीय बासिन्दाले रु. १० तिर्नुपर्नेछ। रेडहिल पार्क र पुष्पमदन बगैँचामा विदेशीलाई रु. ५०, नेपालीलाई रु. २५ र स्थानीयलाई रु. १० लाग्नेछ। अयोध्याधाम र बाल्मीकि आश्रममा पनि यस्तै दर लागु गरिएको छ, तर हालसम्म बाउन्ड्री निर्माण नपुगेकाले ती स्थानहरूमा शुल्क कार्यान्वयन केही समय लाग्ने बताइएको छ।
यसबाहेक, पिकनिक स्थलगत प्रयोगका लागि २० जनासम्मको समूहलाई रु. ३००, ४० जनासम्मलाई रु. ५००, र ४० जनाभन्दा बढी समूहका लागि रु. १,००० शुल्क निर्धारण गरिएको छ। त्यस्तै, फिल्म, म्युजिक भिडियो वा अन्य व्यावसायिक छायांकनका लागि प्रतिदिन रु. १०,००० तिर्नुपर्नेछ।
पिकनिक र फिल्म सुटिङका लागि लिइने शुल्कलाई धेरैले सकारात्मक रूपमा हेरेका छन्। व्यावसायिक प्रयोजनमा सार्वजनिक स्थल प्रयोग गर्दा त्यसको व्यवस्थापन खर्च उठाउन शुल्क स्वाभाविक हो। यी कुरामा खासै विवाद छैन। जनताले भन्छन्, “पिकनिक खाने, सुटिङ गर्नेले पैसा तिर्छ भने ठिकै हो । तर भगवानको गेटमा श्रद्धा तौलिनुचाहिँ अप्ठ्यारो लाग्छ।”

धार्मिक स्थलमा श्रद्धा बोकेर प्रवेश गर्ने साधारण नागरिकका लागि भने यो नयाँ शुल्क प्रणाली सहज रूपमा स्वीकार्य बन्न सकेको छैन।
प्रदेशसभा चितवन क्षेत्र नम्बर ३ (ख) का सांसद माननीय ठाकुरप्रसाद ढकालले धार्मिक स्थल र आस्थाका विषयमा थप संवेदनशील हुन नगरपालिकालाई आग्रह गर्नुभएको छ। उहाँको सेतो नेपाल सङ टेलीफोनमा कुराकानी गर्दै भन्नुभयो “व्यवस्थापनका लागि स्रोत जुटाउनु राम्रो हो, तर श्रद्धाको गन्तव्यमा कर लगाएर त्यो गन्तव्य नै टाढिँदै जाला कि भन्ने चिन्ता रहन्छ ।”
त्यसैगरी स्थानीय धार्मिक चेतसँग गहिरो नाता राख्नुभएका देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर चितवनका अध्यक्ष पूर्णप्रसाद पोखरेलको आफ्नु भनाइ राख्दै प्रतिप्रश्न गर्नुभयो, “मन्दिर त श्रद्धा पोख्ने थलो हो। गेटमै रोकेर शुल्क लिँदा त्यो पवित्रता भंग हुन्छ। भक्तजन आफैंले दानपेटीमा मन खोलेर चढाउने चलन छ। त्योभन्दा प्रभावकारी र सुसंस्कृत उपाय के हुन्छ र?”

वास्तवमा, श्रद्धाको बजार हुँदैन। त्यो स्वतःस्फूर्त बहाव हो जसले कहिलेकाहीँ मन्दिर निर्माण गर्छ, मूर्ति स्थापना गर्छ, र कहिलेकाहीँ सम्पूर्ण समुदायलाई एउटा साझा आस्थामा बाँधिदिन्छ। नगरपालिकाले व्यवस्थापन र संरचना सुधारका लागि स्रोत जुटाउने प्रयास गर्नु गलत होइन। तर स्रोत जुटाउने प्रक्रिया जनभावना र धर्म संस्कृतिको मूल आत्मासँग टकरिएको देखिन थाल्यो भने, त्यो नीति दीर्घकालीन रूपमा उल्टो असर पार्न सक्छ।
माडी धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ। यहाँका तीर्थस्थलहरूमा देश–विदेशबाट भक्तजन आइपुगिरहेका छन्। उनीहरूलाई माडी भित्र रहेका होटल,होमस्टेमा बसाल्न सकिन्छ, स्थानीय उत्पादन बिक्री गर्न सकिन्छ, यातायात प्रवाह बढाउन सकिन्छ—त्यसरी श्रद्धा रोक्न होइन, निशुल्क प्रवेश दिँदा पनि आर्थिक फाइदा लिन सकिन्छ।
श्रद्धा अनमोल हुन्छ। त्यो गेटमा रोकेर मोल लगाउने विषय होइन। भगवानको शरणमा निःशुल्क पुग्दा मात्रै भक्तको मन खुशी देखिन्छ ।
त्यसैले, आग्रह यत्ति हो—पिकनिक र फिल्म सुटिङको शुल्क उठाइयो ठीकै हो। तर मन्दिरको गेटमा ‘टिकट’ होइन, ‘स्वागत छ’ लेखियोस्। श्रद्धा करको विषय होइन—त्यो समर्पण हो। त्यसलाई रोक्न खोजियो भने, मन्दिर सफा राम्रो, घामजस्तै सुन्दर त देखिन्छ होला, तर भित्रबाट सुन्निने शान्तिको धुन हराउँछ।—00–

