एक वर्षमा २४ सय बढी लाभान्वित

चितवनको सिएमटी होटलद्वारा सञ्चालित ‘कपडा बैंक’ प्रभावकारी बन्दै

सन्तकुमार चौधरी – 

चितवन । “तपाईंसँग बढी भएको कपडा कसैको लागि शरीर ढाक्ने साहारा बन्न सक्छ” भन्ने पवित्र भावनाका साथ चितवनमा सुरु गरिएको ‘निःशुल्क कपडा बैंक’ सेवा निकै प्रभावकारी देखिएको छ। भरतपुरस्थित सिएमटी होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा ल्याएको यस अभियानले छोटो समयमै विपन्न तथा असहाय वर्गको मन जित्न सफल भएको हो।

गत वर्ष २०८२ साल वैशाख २९ गते बुद्धजयन्तीको पावन अवसर पारेर स्थापना गरिएको यस बैंकले सेवाको एक वर्ष सफलतापूर्वक पूरा गरेको छ।

होटलका महाप्रबन्धक मदन घिमिरेका अनुसार यो एक वर्षको अवधिमा ८ सय ५५ जना दाताहरूले ६ सय थानभन्दा बढी कपडाहरु स्वेच्छिक रूपमा प्रदान गरेका छन्। यो अभियान चितवनमा मात्र सीमित नभई छिमेकी जिल्लाहरू लमजुङ, गोरखा र राजधानी काठमाडौंसम्म फैलिएको छ। “धेरै दाताहरूले टाढा-टाढाबाट कुरियर र माइक्रो बसमार्फत पनि कपडाहरू पठाइरहनुभएको छ। खेर गइरहेका कपडाले कसैको आङ ढाकिन सक्छ भन्ने हाम्रो पवित्र उद्देश्यमा नागरिकहरूको उत्साहजनक साथ मिलेको छ,” महाप्रबन्धक घिमिरेले बताए।

प्राप्त भएका पुराना वा प्रयोग भइसकेका कपडाहरूलाई होटलले सिधै वितरण गर्दैन। सिएमटी होटल आफैले ती कपडाहरूलाई:

धुने र पखाल्ने, आइरन गर्ने र वर्गीकरणगर्ने काम गरिन्छ ।  फोहोर कपडालाई पूर्ण रूपमा सफा पारिन्छ।  कपडालाई चिटिक्क पारेर आइरन गरिन्छ।  जुत्ता, झोला र कपडालाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थित रूपमा बैंकमा राखिन्छ।

यसरी व्यवस्थित गरिएका सामग्रीहरू अभावमा रहेका व्यक्तिहरूले आफ्नो आवश्यकता अनुसार निःशुल्क लैजान पाउँछन्। साथै, स्टक बढी भएको अवस्थामा होटल टोली आफैं दुर्गम गाउँहरूमा पुगेर विपन्न परिवारलाई लत्ताकपडा र जुत्ता-चप्पल वितरण गर्दै आएको छ।

तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २ हजार ४ सय ३५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। लाभ लिनेहरूमा विशेष गरी: १. चितवनमा कार्यरत दैनिक ज्यालादारी मजदुरहरू। २. उपचारका लागि बाहिरी जिल्लाबाट चितवन आएका विपन्न बिरामी र तिनका आफन्त। ३. इच्छाकामना गाउँपालिकाका सीमान्तकृत चेपाङ समुदाय।

हाल पनि कपडा बैंकमा एक हजारभन्दा बढी मौसम अनुसारका कपडाहरू, स्कुल झोला र जुत्ताहरू तयारी अवस्थामा राखिएका छन्। जाडो वा गर्मी, जुनसुकै मौसममा पनि अभाव झेल्नेहरूका लागि यो बैंक एउटा भरपर्दो भरोसाको केन्द्र बनेको छ।

व्यवसायिक लाभभन्दा माथि उठेर सिएमटी होटलले सुरु गरेको यो ‘कपडा बैंक’ अभियानले समाजमा दान र सेवाको नयाँ संस्कृति स्थापित गरेको छ। –00—

Share:

सम्बन्धित समाचारहरु