औषधि आयातमा ट्रम्पको चेतावनी : २५० प्रतिशतसम्म कर लगाउने तयारी

काठमाण्डौं, २१ साउन ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने औषधिमा अधिकतम २५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन्। उनले विदेशी औषधिमा उच्च कर लगाएर स्वदेशमै उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट संकेत दिएका हुन्।

“सुरुमा सानो दरमा कर लगाउनेछौँ,” ट्रम्पले अमेरिकी सञ्चार संस्था सीएनबीसीसँगको अन्तर्वार्तामा भने, “तर एक वर्ष वा बढीमा डेढ वर्षमा यो दर १५० प्रतिशत पुग्नेछ, र अन्ततः २५० प्रतिशतसम्म पुर्‍याइनेछ।” उनले औषधि उद्योगमा विदेशी निर्भरताले अमेरिकाको सुरक्षामा असर पार्न सक्ने उल्लेख गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। चीन र आयरल्यान्डबाट आयात हुने औषधिको उदाहरण दिँदै उनले ती देशहरूले औषधिबाट ठूलो नाफा कमाउँदै आएको आरोप लगाए।

ट्रम्पले १९९० दशकदेखि औषधि उद्योग अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा निर्भर रहँदै आएको उल्लेख गर्दै त्यसले अमेरिकालाई रणनीतिक रूपमा कमजोर बनाएको बताए।

यसअघि पनि ट्रम्प प्रशासनले औषधिमा उच्च कर लगाउने प्रतिबद्धता जनाए पनि पछि सो निर्णयबाट पछि हटेको थियो। तर हाल पुनः उनले कर दरलाई २००–२५० प्रतिशतसम्म पुर्‍याउने सम्भावनाको संकेत गरेका छन्। ट्रम्पको यस्तो चेतावनीपछि औषधि कम्पनीहरूले चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तो कदमले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा अवरोध ल्याउनुका साथै औषधिको लागतमा भारी वृद्धि हुने सम्भावना छ, जसको असर अन्ततः बिरामीहरूमाथि पर्न सक्छ।

यद्यपि ट्रम्पका चेतावनीपछि प्रमुख औषधि कम्पनीहरूले अमेरिकामा लगानी बढाउन थालेका छन्। एस्ट्राजेनेकाले अमेरिकामा उत्पादन क्षमता विस्तार गर्न ५० अर्ब डलर लगानीको योजना बनाएको छ।
जोनसन एन्ड जोनसनले पनि अमेरिका केन्द्रित अनुसन्धान र विकासमा ५५ अर्ब डलर लगानी गरिरहेको छ। त्यस्तै, एली लिलीले अमेरिका भित्रै चार नयाँ उत्पादन प्लान्ट बनाउन २७ अर्ब डलर खर्च गर्ने घोषणा गरेको छ।

यसैबीच, ह्वाइट हाउसले पनि औषधि आयातले राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे अध्ययन थालेको जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु