सुदीप न्यौपानेको हत्याको बिरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

काठमाडौं, १३ वैशाख । जम्मु कश्मीरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम दिएको छ।

सोही समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ। पहलगाम आतंकी हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै सो समूहले ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए। स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहेकै बेला केही व्यक्ति राप्रपाको ब्यानरमा सोही स्थानमा पुगेका थिए।

उनीहरूले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए। पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए।

यसैबीच, नेविसंघले समेत पाकिस्तानी दूतावास बाहिर प्रदर्शन गर्ने भने पनि अन्तिममा रद्द भएको जानकारी दिइयो।–0–

Share:

सम्बन्धित समाचारहरु