खिचरा महोत्सवको तेस्रो दिन आज कुमा सागर र युके ब्यायको सांगीतिक धमाका

खैरहनी, १ माघ ।

खैरहनी–५ स्थित गौचरनमा सञ्चालन भइरहेको ११औँ खिचरा महोत्सव २०८२ आज तेस्रो दिनमा प्रवेश गरेको छ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव आज थारू सम्बत २६४९ को अवसरमा विशेष सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमसहित मनाइँदै छ ।

आजको मुख्य  आकर्षक  चर्चित ब्याण्ड कुमा सागर एण्ड द ख्वपा ले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ भने लोकप्रिय गायक युके ब्याय (उत्तम चौधरी) ले आफ्ना चर्चित गीतमार्फत दर्शक–श्रोतामाझ प्रस्तुति दिनेछन् । यी कार्यक्रमले महोत्सवको रौनक थप बढाउने आयोजकको विश्वास छ ।

महोत्सवको तेस्रो दिनको अर्को प्रमुख आकर्षणका रूपमा थारू फेसन शो रहेको छ । थारू समुदायका परम्परागत पहिरन, गहना र जीवनशैली झल्काउने फेसन शोमार्फत थारू संस्कृतिको मौलिकता र सौन्दर्य प्रस्तुत गरिनेछ । आयोजकका अनुसार थारू फेसन शोले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी आज विभिन्न गाउँबाट आएका सांस्कृतिक टोलीहरूले डफु नाच, ठेकरा नाच, झम्टा, भुमरीलगायत थारू समुदायका परम्परागत नाचहरू प्रस्तुत गर्नेछन् । यी नाचगानले महोत्सव परिसरलाई सांस्कृतिक उत्सवमय बनाएको छ ।

थारू समुदायमा पुस १५ देखि माघ १५ सम्म चिसोबाट जोगिन चिच्चरको पोका खाने परम्परासँगै मनाइने खिचरा पर्वको अवसरमा २०७० सालदेखि खिचरा महोत्सव आयोजना हुँदै आएको छ ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७ चितवनको आयोजनामा सञ्चालन भइरहेको महोत्सव माघ १० गतेसम्म चल्नेछ ।

Share:

सम्बन्धित समाचारहरु