रेशम सापकोटा – सेतो नेपाल
माडी, २१ असार । उमेरले त युवाकै उन्माद थियो, तर आँखामा देखिएका सपनाहरू बिस्तारै जिम्मेवारीमा रूपान्तरण हुँदै थिए। मनले सधैं भन्थ्यो — “केही त गर्नुपर्छ, केही त बनाउनु पर्छ।” माडी नगरपालिका–६ का भीम चापागाईंको मनमा त्यही उथलपुथल थियो, जब उनले २०७२ सालतिर वैदेशिक रोजगारीको बाटो रोजे। आँखाभरि सपना थिए, तर मनभित्र कताकता डर पनि थियो — नयाँ ठाउँ, नयाँ जीवन, नयाँ चुनौती।

दुबईको तातो बालुवामा बगिरहेको पसिनासँगै जिन्दगीका सुन्दर कल्पनाहरू बग्न थाले। बिहानको उज्यालो सँगसँगै उनी काममा जान्थे, रातको थकाइले शिथिल बनेको शरीर लिएर फर्किन्थे। तीन वर्षजति त्यहीँ बिते, तर जिन्दगी भने चुपचाप एकै ठाउँमा थिचिएको जस्तो लाग्थ्यो। मन भने सधैं यही भनिरहन्थ्यो — “घर फर्कनुपर्छ, आफ्नै माटोमा केही गर्नुपर्छ।”
फर्किए तर गाउँमा रोजगारीको सम्भावना नै थिएन। मनमा जागेको उत्साह पनि बिस्तारै ओइलाउन थाल्यो। कामको अभाव, अपहेलना, बेरोजगारीको तीतो महसुसपछि अन्ततः फेरि विदेश जानु नै उचित ठाने — योपल्टको गन्तव्य थियो इजरायल।

इजरायलको जिन्दगी पनि सजिलो कहाँ थियो र? एउटै भाषा नबोल्ने देश, एउटै अनुहार नदेखिएको शहर, अनि एउटै सपना बोकेको मन। जिम्मेवारीले थिचिएको जीवन, उमेरले थपेको थकाइ, अनि भित्रभित्रै चिरेको आत्मा। विवाह भइसकेको थियो, श्रीमती घरमै थिइन्, अब त परिवारको जिम्मेवारीले पनि सुत्न नदिने बनाइसकेको थियो।
कहिलेकाहीँ कामको फुर्सदमा आकाशतिर हेरेर टोलाउँथे। घरको याद आउँथ्यो, घर–परिवारको अनुहार ताजै हुन्थ्यो, बाल्यकालको झल्को आउँथ्यो, अनि आँखाबाट अनायासै आँसु बग्थे — थाहा नै नपाई। रगत त बगिरहेको नै थियो, पसिनाले लुगाभित्रै ताल बनाएको हुन्थ्यो, तर त्यो सबभन्दा पीडादायी चाहिँ भित्रभित्रै चलिरहेको एक्लोपन थियो — जहाँ आफ्नै आवाज सुन्न मन लाग्थ्यो, आफ्नै बोली सुनाउने मान्छे खोजिन्थ्यो।
एक वर्ष बितिसक्दा पनि आत्मा थाकिसकेको थियो। अनि एकदिन मन थामिएन — फर्कने निधो गरे। विदेशी भूमि हुँदै जन्मथलो माडी फर्किए — आफ्नै माटो, आफ्नै हावा, आफ्नै मान्छे।

त्यो बेलासम्म बुवाले गाउँमा नै भर्खरै ‘माडी भ्यु सामुदायिक होमस्टे’ सञ्चालन गर्न थाल्नुभएको थियो। बुवा जितबहादुर चापागाईं माडी भ्यु होमस्टेका अध्यक्ष हुनुहुन्थ्यो, उहाँ हाल बागमती प्रदेश सामुदायिक होमस्टे महासंघका उपाध्यक्षसमेत हुनुहुन्छ। भीमले सोच्न थाले — यही ठाउँबाट जीवनको अर्को अध्याय सुरु गर्नुपर्छ। अनि बुवा–आमालाई साथ दिएर होमस्टेमा काम गर्न थाले।
सुरुमा सानो–सानो काम — घर लिपपोत गर्नु, पाहुनाको ओछ्यान मिलाउनु, सरसफाइ गर्नु, गाई–वस्तुलाई घासपात गर्ने — यिनैबाट नयाँ सुरुवात भयो। तर हरेक काममा गर्व मिसिएको थियो। पाहुनालाई स्वागत गर्दा भित्रैबाट हाँसो आउँथ्यो, उनीहरूको मुस्कानमा आफूलाई देख्थे।

होटलजस्तो होइन होमस्टे — यहाँ पाहुना अपरिचित भएर आउँछन्, आत्मीय भएर जान्छन्। कतिपय त अहिले पनि बेलाबेला फोन गर्छन् — “सन्चै हुनुहुन्छ? हामी आउँछौं फेरि।” होमस्टे अब केवल व्यवसाय थिएन, त्यो त आत्मीयताको अर्को नाम बनेको थियो।
अब त भीमसँग जीवनको अर्कै रङ छ। दुई छोराहरू छन् — एक सात वर्षको, अर्को एक वर्षको। जेठो छोरालाई माडीकै दिवाकर माध्यमिक विद्यालयमा पढाइरहेका छन्। श्रीमती पनि शिक्षिका — माडीकै जनकल्याण माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्छ। बिहान स्कुल, बेलुका होमस्टे — जीवन सँगै बगिरहेको छ, सँगै रमाइरहेको छ।
होमस्टेमा आउने पाहुनाहरूलाई आफैंले उत्पादन गरेका, विषादीरहित तरकारी, घरको अन्न, आफ्नै बारीबाट बनेको अचार — जे हो, मन र माया मिसाएर खुवाउने चलन बसिसकेको छ। भीम गर्वका साथ भन्छन् — “हामी खान दिन्छौं भने केवल पेटका लागि होइन, आत्माको सन्तुष्टिका लागि पनि।”
उनी भन्छन् — “परदेशमा पैसा थियो, तर माया थिएन। यहाँ परिवार छ, माया छ, सम्मान छ, पैसा छ, अनि जीवन पनि छ।”
उनी सम्झन्छन् — दुबई र इजरायलको त्यो गर्मी, त्यो तातो बालुवा, त्यो चिसो आँशु। अनि भन्छन् — “यदि नेपालमै थोरै सम्भावना देखिएको भए, म कहिल्यै परदेश लाग्दिन थिएँ।”
अब उनी यस्तै युवाहरूका प्रेरणास्रोत बनेका छन्। उनको पछि लागेर केही युवाहरू विदेशबाट फर्केर गाउँमै होमस्टे, कृषि, हस्तकला, पशुपालन, मौरीपालन सुरु गरिरहेका छन्। उनले देखाएको बाटोले सम्भावनाको ढोका खोलेको छ।
भीम चाहन्छन् — “राज्यले हामीजस्ता साना व्यवसायीलाई पनि सुन्ने कान, हेर्ने आँखा, बुझ्ने मन दिउन्। अनुदान होस्, तालिम होस्, वातावरणमैत्री प्रविधि होस् — हामी तयार छौं। होमस्टे मात्र होइन, यससँग जोडिएका कृषि, पशुपालन, हस्तकला र संस्कृतिको जगेर्ना पनि सँगै जोड्नुपर्छ।”
अहिले ३४ वर्षका उनी, आँखाभरि चमक, अनुहारमा सन्तोष, बोलीमा आत्मविश्वास — देख्दा लाग्छ, सायद जिन्दगी भनेको यही हो। साँझपख घरको आँगनमा श्रीमतीसँग चिया पिउँदै गर्दा उनी भन्छन् — “विदेशमा त पैसा थियो, तर आमा–बुवा, परिवार थिएनन्। अब म घरमै छु — छोरो, श्रीमती, बुवा–आमा र माटोसँगै।”
अन्ततः उनी भन्छन् —
“परदेशमा रगत बगायौं, पसिना झार्यौं, आँशु लुकायौं। तर अब आफ्नै माटोमा हाँस्न पाइन्छ, सास फेर्न पाइन्छ। आत्मा शान्त छ। यही हो जिन्दगी — आफ्नै माटोको मायामा, परिवारको अँगालोमा, आत्मसम्मानको यात्रामा।”


