काठमाडौं। नेपालमा पछिल्लो समय तापक्रम निरन्तर घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्री सेल्सियसमा झरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो तापक्रम यस वर्ष काठमाडौंमा रेकर्ड गरिएको सबैभन्दा कम हो। पुस महिना सुरु भएयता देशभर तापक्रम क्रमशः घट्दै गएको र यो क्रम अझै जारी रहने मौसमविद् विनु महर्जनले जानकारी दिए। उनले यस समयमा चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो भने पुस १५ गते ४.८, पुस १७ गते ४.६ र पुस १९ गते ४.५ डिग्रीमा झरेको थियो। यस्तै पुस २३ र २४ गते ३ डिग्रीमा झरेको तापक्रम आज घटेर २.४ डिग्री पुगेको हो।
काठमाडौंसँगै देशका विभिन्न जिल्लामा पनि चिसो बढिरहेको छ। आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ७.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। बिहीबार जुम्लामा तापक्रम माइनस ८.१ डिग्रीसम्म झरेको थियो।
यस्तै, जोमसोममा न्यूनतम तापक्रम माइनस ५ डिग्री, दोलखाको जिरीमा माइनस २.१ डिग्री रहेको छ। डडेलधुरामा १.५, दिपायलमा १.४, वीरेन्द्रनगरमा २.५, ताप्लेजुङमा ३.९ र लुम्लेमा ३.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको विभागले जनाएको छ।
यस्तो छ मौसमी अवस्था
मौसम विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ।
आज साँझ जारी बुलेटिनअनुसार कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ भने बाँकी तराईका केही स्थानमा पनि हुस्सु देखिन सक्ने विभागले जनाएको छ।
तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, पर्यटन, स्वास्थ्य सेवा साथै हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ। साथै, दैनिक अद्यावधिक मौसमी सूचना प्राप्त गर्न विभागको पूर्वानुमान महाशाखाको जानकारी लिन पनि आग्रह गरिएको छ।


