भीरको टाकुरामा बस्दै आएका चेपाङ परिवारलाई कपुरबोट मिडियाद्वारा सहयोग

भरतपुर । कपुरबोट मिडियाले भरतपुर–२९ स्थित मगर खरे भीरमा बस्दै आएका चेपाङ दम्पतीलाई खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको छ । एक साता पहिले भीरको टाकुरामा एउटामात्रै अस्थायी टहरा बनाएर बस्दै आएका सुकबहादुर र लालमाया चेपाङको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
कपुरबोट मिडियाका अध्यक्ष सन्तोज देउजाले घरमै पुगेर ३ महिना पुग्ने खाद्यान्न र लगाउने र सुत्ने कपडाहरु सहयोग गरेका छन् । युकेमा बस्दै आएकी लता गुरुङको समूहले पठाएको रकममा थप गरेर कपुरबोट मिडियाले सहयोग गरेको हो । पुस १० गते रिपोर्टिङका क्रममा खरको छानामुनि बार विनाको अस्थायी टहरामा वृद्ध दम्पती कष्टकर दैनिकी गुजारेको भिडियो सार्वजनिक भएको थियो । १५ वर्षिय छोरा मंगल चेपाङ उनै वृद्ध बुबा–आमासँग बस्दै आएका छन् ।
१२ जना छोराछोरीमध्ये ३ जना सानै उमेरमा बिरामी परेपछि ज्यान गुमाएका थिए । १ जना छोरा रुखबाट खसेर ज्यान गुमाए । ५ छोरीको बिहे भैसकेको छ भने अन्य २ जना केही परको भीरको पाखामा अलग्गै बस्दै आएका छन् । चेपाङ दम्पती मगर खरे भीरको टाकुरामा विगत २० वर्षदेखि बस्दै आएका छन् । सहराबिहीन बनेका दम्पती दाउरा बेचेर विहान बेलुकाको छाक टार्दै आइरहेका छन् ।
कान्छा छोरा मंगल अहिलेसम्म स्कुलमा पाइलै टेकेका छैनन् । गरिबीकै कारण ८ छोराछोरीनै स्कुल जान पाएनन् । खाद्यान्न तथा न्यानो कपडा सहयोग पाएपछि लालमाया चेपाङले काम गर्नै नसक्ने अवस्थामा पुगेको दुखेसो पोखिन् । भीरमा खेती नहुने र काम गर्न जान पनि नसक्ने भएपछि विहान बेलुकाको खाना जुटाउन पनि धौधौ छ । लालमाया ४ दिन पहिले फेदीमा रहेको खयरे खोलाबाट पानी ल्याउने क्रममा भीरबाट लडेर हात र ढाडमा चोट लागेको छ । उनको एउटा आँखा पनि कमजोर छ । चेपाङफेदीबाट घर पुग्न आधा घण्टा बढी उकालो लाग्नुपर्छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु