काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच राजनीतिक एकता भएको छ।
सोमबार बेलुकी रास्वपा सभापति लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र बालेन शाहले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा कुलमान घिसिङले उपाध्यायलाई हस्ताक्षर गर्न लगाएका थिए भने बालेन साक्षी बनेका थिए। सहमति अनुसार, रवि लामिछाने सभापति रहनेछन् र कुलमान घिसिङ दोस्रो वरियतामा उपसभापति बन्ने सहमति भएको छ। त्यस्तै, उपसभापतिमा डी. पी. अर्याल र स्वर्णिम वाग्ले पनि रहनेछन्।
सहमति पत्रमा उल्लेख छ कि पार्टीले जेन-जेन (नवयुवाहरू) द्वारा भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात गर्दै, घाइते तथा शहीद परिवारका मागहरूको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउनेछ। यससँगै, उज्यालो नेपाल पार्टीका युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम र संरचनामा समावेश गरिनेछ। जिम्मेवारी निर्धारण गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने छ।
सहमति अनुसार, रास्वपा सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, पार्टीले ‘घण्टी’ चुनाव चिन्हमा आधारित भएर लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दाहरू अघि बढाउँदै, अन्य सुसंस्कृत र परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि आमन्त्रण गर्नेछ।


