काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीबाट सहभागी हुन ६७ दलले दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगले तोकेको समयअनुसार समानुपातिकतर्फ चुनाव लड्न चाहने दलले मंसिर २१ गतेदेखि आजसम्म निवेदन दिनुपर्ने कार्यतालिका रहेको छ।
आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। आयोगको कार्यतालिका अनुसार पहिलो दिन ३३ दल र दोस्रो दिन ३४ दलले दल दर्ता निवेदन दिएका हुन्। आज थप कति दल दर्ताका लागि आउनेछन् भन्ने विषयमा आयोगले दिनभरको तथ्यांक संकलनपछि जानकारी गराउनेछ।
दर्ताका लागि प्राप्त निवेदन आयोगले अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने प्रक्रिया अघि बढाउनेछ। यसपछि समानुपातिक उम्मेदवारहरूको बन्द सूची पेश गर्ने समय पुस १३ र १४ गते निर्धारण गरिएको छ। प्रारम्भिक बन्दसूची माघ ४ गते प्रकाशन हुनेछ भने त्यसमा पर्ने दाबी–विरोध र उजुरीको छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ जना प्रत्यक्षतर्फबाट र ११० जना समानुपातिकतर्फबाट निर्वाचित हुने व्यवस्था छ। प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते हुने कार्यतालिका छ।–00–


