गैँडा मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

चितवन, ११ माघ । गैँडा मारी तीन वर्षदेखि फरार रहेका राप्ती नगरपालिका वडा नं–६ का टीकाराम बोहोरा (खेसरबहादुर) पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा नेपाली सेनाको विशेष टोली, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षार्थ खटिएको खड्गबहादुर दल गणको संयुक्त टोलीले निजलाई माघ ९ गते दिउँसो १ः५० बजे हेटौँडा उपमहानगरपालिका वडा नं–२ चौकीटोलबाट पक्राउ गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारीमा भाले गैँडा मारी खाग काटेर लगेको र २०७७ कात्तिक २० गते २ बजे आइल्याण्ड क्षेत्रमा गोली हानी खाग काटेर लगेको घटनाको अनुसन्धानका क्रममा २४ जना प्रतिवादीको संलग्नता खुलेको थियो । जसमध्ये बोहोेरा तीन वर्षदेखि फरार सूचीमा रहेका थिए ।

निज बोहोरालाई बुधबार नै बयान तथा थुनछेक आदेशको लागि चितवन जिल्ला अदालतमा पेश गरिएको संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु