प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै मेयर बालेन शाह पुगे अदालत

काठमाण्डौ, ७ असार

त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अदालत गएका छन् ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको काठमाडौं महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

 

काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।

त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण पुगेको सातौं दिन उच्च अदालत, पाटनमा वारेसमार्फत दायर गरिएको रिटमा संविधान विपरीत र महानगरको संस्थागत काममा प्रत्यक्ष प्रतिकूलअसर पुग्ने दाबी गरिएको छ ।

Share:

सम्बन्धित समाचारहरु