रामेछाप,१७ साउन । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकमार्गमा पर्ने भटौली खोलाको पक्की पुल जोखिममा परेको छ ।
पुलको पकरबासपट्टि खोलाले सडक कटान गरेपछि शनिबार बिहानदेखि सवारी आवागमन अवरुद्ध भएको हो । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुलको एक छेउमा भटौली खोलाको तेज बहावले क्षति पुर्याएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पुलको पकरबासपट्टिको सडक भाग खोलाको कटानका कारण खोक्रो बनेको छ । अहिले दुई पाङ्ग्रे सवारी साधनले मात्र आवागमन सम्भव भए पनि ठूला सवारी साधन चल्न नसक्ने अवस्था छ । पौडेलका अनुसार पुलको भाग खोलाले कटान गर्न थालेपछि मर्मतको काम सुरु गरिएको थियो, तर शुक्रबार रातिको बाढीले प्रारम्भिक मर्मत नै बगाएको छ ।
उनले तत्काल मर्मत सुरु नगरे पुल नै जोखिममा पर्ने चेतावनी दिएका छन् । वडाले पहिल्यै सम्बन्धित निकायलाई जानकारी दिए पनि समयमा काम सुरु नभएकाले थप क्षति भएको पौडेलले बताए । “सुरुमा नै काम थालिएको भए यति क्षति हुँदैनथ्यो, अब ढिलाइ गर्यो भने स्थिति झन् जटिल बन्छ,” उनले भने ।
भटौली खोलाको यो पक्की पुल रामेछाप जिल्लाका तीन गाउँपालिका र राजधानी काठमाडौं जोड्ने वैकल्पिक मार्गमा पर्ने भएकाले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
गत वर्ष खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखा जानेसहितका गाडीहरूले यही सडक प्रयोग गरेका थिए । अहिले पनि खुर्कोटतर्फको पुलबाट ठूला सवारी साधन चलाउन नसकिने भएकाले काठमाडौं तथा तराइसँगको आवागमन यही सडकमार्ग हुँदै भइरहेको छ । पुलको अवस्था थप नबिग्रियोस् भनेर स्थानीय स्तरमा अस्थायी उपाय गरिएको भए पनि स्थायी मर्मत कार्य अझै आवश्यक छ । –00–


