काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै सोमबार मध्यान्ह १२ बजेदेखि पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार लगातार पहिरो खस्ने क्रम नरोकिएकाले अहिलेसम्म पन्छाउने काम सुरु गर्न सकिएको छैन। डिभिजनले आवश्यक उपकरण तैनाथ अवस्थामा राखिएको र पहिरो स्थिर भएपछि मात्रै काम सुचारु गरिने जनाएको छ।
यसअघि अघिल्लो सातासमेत यही ठाउँमा ठूलो पहिरो खसेर ४५ घण्टापछि मात्र सडक सञ्चालनमा आएको थियो।
दशैं मनाउन घर फर्कने यात्रुहरू भने यसपटक फेरि तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन्। पश्चिमतर्फ जाने सवारी साधनहरू अहिले मुग्लिन सडकअड्डा क्षेत्रमा लामबद्ध हुन थालेका छन्।–00–


