लो भोल्टेजका कारण पूर्वी चितवनमा पङ्खा लगाएत विद्युतीय उपकरण चल्दैन

होमनाथ सापकोटा
३१ साउन, रत्ननगर । पूर्वी चितवनमा विद्युत्को लो भोल्टेजका कारण उपभोक्ताहरु समस्यामा परेका छन् । लोडसेडिङको समस्या नभए पनि लो भोल्टेजका कारण विद्युतीय उपकरण सञ्चालनमा समस्या भएको उपभोक्ताहरुले बताएका छन् । पूर्वी चितवनका चारवटा नगरपालिकामा यो समस्या रहेको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले विद्युत् प्रसारण सिस्टममै लो भोल्टेज रहेको बताएको छ ।

गर्मी महिनाहरुमा लो भोल्टेजको समस्या हुने टाँडी वितरण केन्द्रका प्रमुख नवीनकुमार लाभले जानकारी दिए । चैत, वैशाख, जेठ, असार, साउन र भदौ ६ महिना लो भोल्टेजको समस्या आउने उनको भनाइ छ । ३३ केभी लाइनमा खैरहनीसम्म आउँदा २८ केभी र उपभोक्ताको घरमा पुग्दा २० केभीमात्रै हुने भएकाले लो भोल्टेजको समस्या भएको हो ।

लो भोल्टेजका कारण उद्योगहरुमा मेसिन सञ्चालन र घरमा टेलिभिजन, फ्रिज, पङ्खा चलाउन समस्या भएको छ । लो भोल्टेजसँगै अनियन्त्रितको समेत समस्या देखा परेको छ ।

विद्युत् प्रसारणलाइनमा आएको गडबडीबारे व्यवसायी तथा उपभोक्ताहरुले प्राधिकरणको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् । ‘लाइन छ भनेर के गर्नु’, खैरहनीकी उपभोक्ता चन्द्रकला कँडेलले भनिन्, ‘टिभी, फ्रिज, पङ्खा चल्दै चल्दैन ।’ अहिले चितवनमा अत्यधिक गर्मी छ । प्राधिकरणले लोडसेडिङ नभएको जनाए पनि गर्मी हुँदा पङ्खा चलाउन नपाउँदा हैरानी खेप्नु परेको कँडेलले बताइन् ।

रत्ननगरका उपभोक्ता सुनिल पौडेलले लो भोल्टेजका कारण पङ्खा बिस्तारै चल्ने गरेको बताए । ‘विद्युत् भएरनभएको सार छैन’, उनले भने, ‘तीन–चार महिनादेखि यो समस्या झेल्दै आएका छौँ ।’ लो भोल्टेजका बारेमा ज्ञान नभएका ग्रामीण क्षेत्रका उपभोक्ताहरुको समस्या भने अर्कै छ । पङ्खा बिस्तारै चलेपछि बिग्रिएको हो कि भनेर नयाँ पङ्खासमेत फेर्न बाध्य भएका छन् । पङ्खा मात्र होइन फ्रिजको समस्या पनि उस्तै छ । ‘लो भोल्टेजका कारण फ्रिज चल्दैन’, पौडेलले भने, ‘चलिहाल्यो भने पनि समयमै सामग्री चिसो हुँदैन ।’

सिस्टम र गर्मीका कारण भएको लो भोल्टेजको समस्या समाधानको विकल्प नभएको प्राधिकरणले जनाएको छ । ‘यो समस्या निरन्तर भइराख्ने होइन’, टाँडी वितरण केन्द्रका इन्जिनियर विक्रम श्रेष्ठले भने, ‘पानी परेको समयमा भोल्टेज ठीक ठाउँमा आउँछ ।’ उनले खपत बढेका कारणले पनि लो भोल्टेज भएको बताए । पूर्वी चितवनमा रहेका उद्योगहरुलाई छुट्टै फिडर बनाएर विद्युत् दिन सके यो समस्या घट्ने उनको भनाइ छ ।

पूर्वी चितवनमा वार्षिकरुपमा विद्युत् खपत बढ्दै गएको छ । गत वर्ष १६ प्रतिशतले विद्युत् खपत वृद्धि भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७७र७८ मा ९ करोड ७० लाख ७२ हजार ४६२ युनिट खपत भएकोमा आर्थिक वर्ष २०७८र७९ मा वृद्धि भई ११ करोड २८ लाख ७२ हजार ५५३ पुगेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । सो वितरण केन्द्रअन्तर्गत ६६ हजार ८५७ ग्राहकहरु रहेका छन् ।

वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्दै लगेको छ । पूर्वी चितवनमा चुहावटको प्रतिशत १२ दशमलब २९ रहेको छ । उनले हुकिङ तथा मिटर बाइवास गरेर गर्ने विद्युत् चोरी नियन्त्रणमा आइसकेको बताए ।

पूर्वी चितवनमा आर्थिक वर्ष २०७८/८९ मा हाइटेन्सन लाइन ८७ किलोमिटर तथा लो टेन्सन लाइन २१५ किलोमिटर विस्तार गरिएको प्रमुख लाभले जानकारी दिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु