जेनजी आन्दोलनमा दमनबारे छानबिन: प्रहरी प्रमुखहरूबाट आयोगले लिने बयान आजदेखि

 काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसका घटनामाथि छानबिन गर्न बनेको आयोगले दुई सुरक्षा निकाय—नेपाल प्रहरी र सशस्त्र प्रहरी बल—का बहालवाला प्रमुखहरूसँग बयान लिने तयारी गरेको छ।

आयोगका एक सदस्यका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँग बयान सुरु हुनेछ। त्यसपछि क्रमशः नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई बोलाउने योजना छ। जेनजी आन्दोलन भएको बेला अर्याल नै सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए।

आईजीपी कार्की भने आन्दोलनको अघिल्लो दिन प्रत्यक्ष रूपमा परिचालन सम्हाल्ने भूमिकामा थिएनन्। २३ गते बेलुकी मन्त्रिपरिषद्को निर्णयपछि मात्र उनले भदौ २४ गते बिहानदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। त्यसैले आयोगले उनलाई हालको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिकामा आधारित भएर बयान लिने तयारी गरेको छ।

आयोगसम्बद्ध एक स्रोतले भन्यो, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला नेतृत्वसँग बयान लिने काम अब मात्र सुरु हुँदैछ। त्यसपछि तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको पालो आउनेछ।”

यसअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले आयोगमा बयान दिएका छन्।

आयोगलाई तोकिएको समय सकिन केही दिन मात्र बाँकी छ। तर अझै बयान प्रक्रिया, थप विवरण संकलन र प्रतिवेदन तयार गर्ने काम बाँकी रहेको भन्दै समयावधि थप्नुपर्ने निश्चितजस्तै भएको आयोग निकट स्रोतले जनाएको छ।—00—

Share:

सम्बन्धित समाचारहरु