विद्यालयमा सेवा र सरसफाइको सन्देश बोकेर अघि बढ्दै पपुलर सैलुन

 

— रेशम सापकोटा । सेतो नेपाल
भरतपुर, २० असार । कपाल काट्ने पेशालाई धेरैले केवल व्यवसायिक दृष्टिकोणबाट हेर्ने गरेका छन्। तर, पपुलर युनिसेक्स सैलुन, भरतपुरले यस परम्परागत सोचमा नयाँ आयाम थपेको छ। समाजप्रतिको उत्तरदायित्व बोधसाथ विद्यालयहरूमा पुगेर निःशुल्क सेवा दिनु, सरसफाइ र वृक्षारोपण गर्नु जस्ता कार्यमार्फत सैलुनले अलग पहिचान बनाउँदै आएको छ।

यही अभियानको निरन्तरतामा, आज भरतपुर–१८ को भुवनबस्तीस्थित श्री आधारभूत विद्यालय र वडा–२६ को कोइलाहा स्थित श्री आधारभूत विद्यालयमा क्रमशः ७० र ५० जना विद्यार्थीलाई निःशुल्क कपाल काट्ने सेवा प्रदान गरियो।

कार्यक्रमको अवसरमा दुवै विद्यालय परिसरमा सरसफाइ र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपणसमेत गरिएको थियो। यस क्रममा रोपिएका बिरुवाले वातावरणीय सन्देश दिनुका साथै बालबालिकामा प्रकृतिप्रतिको लगाव समेत बढाएको छ।

कार्यक्रममा सहभागी सामाजिक अभियन्ता धीरेन्द्रकुमार शाहले व्यक्तिगत सरसफाइ, विद्यालय वातावरणको स्वच्छता, र हरियालीको महत्त्वबारे सरल भाषामा विद्यार्थीहरूलाई जानकारी दिए। “केवल पढाइले होइन, व्यवहार, सरसफाइ र वातावरणीय चेतनाले पनि विद्यार्थीको समग्र विकास सम्भव हुन्छ,” शाहले भन्नुभयो ।

भुवनबस्ती विद्यालयका प्रिन्सिपल गुरुप्रसाद अधिकारीले यस्ता अभियानले बालबालिकामा सकारात्मक सोच, अनुशासन र जिम्मेवारीको भावना बलियो बनाउने धारणा व्यक्त गरे। “शिक्षासँगै यस्ता क्रियाकलापले विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा दिन्छ,” वहाँले भन्नुभयो ।

कोइलाहा विद्यालयका प्रिन्सिपल रामभक्त वाग्नेले विद्यालयमै यस्ता गतिविधि सञ्चालन हुनु प्रेरणादायी भएको बताउँदै आयोजकप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रम संयोजक तथा *पपुलर युनिसेक्स सैलुनका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद)*का अनुसार, “व्यवसायले मात्रै होइन, समाजप्रतिको योगदानले पनि सन्तुष्टि दिन्छ। यसै सोचअनुसार हामीले यो अभियान सुरु गरेका हौं।” उनका अनुसार, अहिलेसम्म झन्डै ५२०० भन्दा बढी व्यक्तिहरूलाई निःशुल्क सेवा दिइसकिएको छ।

सैलुनले विद्यालय, कलेज, टोलटोल र संस्थाहरूमा पुगेर सीप विस्तार, सरसफाइ सचेतना, वृक्षारोपण, आत्मनिर्भरता र सकारात्मक सोच अभिवृद्धि जस्ता विविध पक्षमा अभियान चलाइरहेको छ।

सिप, सेवा, सरसफाइ र समर्पणको मूल मन्त्रलाई आत्मसात गर्दै पपुलर सैलुनले व्यवसाय र समाजबीचको सन्तुलन कायम गर्दै सकारात्मक रूपान्तरणको उदाहरणीय कार्य गरिरहेको छ।

Share:

सम्बन्धित समाचारहरु