रत्ननगर ।
नारी जागरण केन्द्र रत्ननगरको २८औं वार्षिक साधारण सभा तथा छात्राबृत्ती वितरण कार्यक्रम सम्पन्न भएको छ। रत्ननगर वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले वार्षिक प्रतिवेदन, महासचिव सरस्वती लामाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विभा डल्लाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
साधारण सभाको अवसर पारेर केन्द्रले स्थापना गरेको **‘छोरी शिक्षा अक्षयकोष’**बाट सामुदायिक विद्यालयमा उच्च शिक्षा अध्यायन गरिरहेका ६ जना विपन्न तथा जेहेन्दार छात्राहरुलाई जनही १० हजार रुपैयाँका दरले छात्राबृत्ती वितरण गरिएको हो। वडाध्यक्ष खरेल र अध्यक्ष खनालले छात्राहरुलाई छात्राबृत्ती रकम हस्तान्तरण गरेका थिए।
त्यसैगरी रत्ननगर नगरपालिकाले केन्द्रको सिफारिसमा हरेक वर्ष पाँच जना छात्राहरुलाई १० हजारका दरले छात्राबृत्ती प्रदान गर्ने घोषणा गरेको छ। उक्त घोषणा मेयर प्रलाद सापकोटाले साधारण सभाका प्रमुख अतिथि वडाध्यक्ष खरेलमार्फत गर्नुभएको हो।
साधारण सभामा समाजसेवी बलराम खनालले ५० हजार, सुस्मिता भूषालले १२ हजार, शान्तिकुञ्ज कला–संस्कृति उपसमितिले ११ हजार १०५, र समाजसेवी आमा समूहले ७ हजार रुपैयाँ छोरी शिक्षा अक्षयकोषमा प्रदान गरेका छन्।
कार्यक्रममा वडाध्यक्ष खरेलले नारी जागरण केन्द्रले समाजमा गरेका कार्यहरूले दीर्घकालीन प्रभाव पारेको भन्दै स्थानीय सरकार र अन्य संस्थाहरूले पनि यसबाट सिक्नुपर्ने बताउनुभयो।
केन्द्रकी अध्यक्ष खनालले विपन्न वर्गका बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न, महिला सशक्तिकरण, वातावरण संरक्षण, वृक्षारोपण, सरसफाइ, शिक्षा र स्वास्थ्यका क्षेत्रमा केन्द्रले निरन्तर काम गरिरहेको बताइन्।
महासचिव सरस्वती लामाको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रका पूर्वअध्यक्ष विमला दुवाडी, ज्वाला पुरी वन, सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपाने, ओम साईराम पोलिक्लिनिकका सञ्चालक अमृतराज भण्डारी, समाजसेवी बलराम खनाल, र बौद्ध गुम्बाका अध्यक्ष कृष्णबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा केन्द्रकी उपाध्यक्ष विष्णुकुमारी नेपालले स्वागत मन्तव्य राखेकी थिइन्।


