‘जेनजीका माग पूरा नभई चुनाव हुँदैन’ — हामी नेपालका संयोजक सुधन गुरुङ

काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी आन्दोलन’ले राखेका मागहरू पूरा नभएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।

बिहीबार (कात्तिक २७) बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउने क्रममा पुगेका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनका अनुसार, केहीलाई बाहेक सबै जेनजी एकै ठाउँमा छन् । उनले आन्दोलनका मागहरू तत्काल पूरा गर्न सरकारलाई चेतावनी दिएका छन् ।

“माग पूरा नभईकन कसरी चुनाव हुन्छ ? यो जिम्मा गृहमन्त्रीज्यूले लिनुपर्छ,” गुरुङले भने, “समग्र जेनजीहरूको टिम एक ठाउँमा छ, एकदुई जना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई पनि हामी बोलाउँछौँ ।” गुरुङले जेनजी आन्दोलनका हरेक वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल स्वयं संलग्न भएको दाबी गर्दै उनले माग पूरा गर्ने विश्वास दिलाए पनि व्यवहारमा त्यसअनुसार काम नभएको आरोप लगाए ।

“उहाँ (अर्याल) हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो, राष्ट्रपति कार्यालयमा मलाई संविधानविद् भनेर चिनाइएको थियो,” उनले भने, “गिरीबन्धुमा म लडेको मान्छे भनेर मलाई कन्भिन्स गर्नुभएको थियो, तर अहिले आएर चुनावको मात्र रटान लगाउनु धोका हो ।” गुरुङले गृहमन्त्रीले आन्दोलनका मागहरू पूरा नगरी निर्वाचनको तयारीमा लागेर जेनजीलाई धोका दिएको ठहर हुने चेतावनी पनि दिएका छन् ।

उनले अन्त्यमा भने, “यदि सरकार र गृहमन्त्रीले माग पूरा गरेनन् भने, अर्को ठूलो आन्दोलन सुरु हुनेछ ।”

Share:

सम्बन्धित समाचारहरु