महेन्द्रनगर, साउन ४ — कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिला सकुशल रूपमा परिवारको सम्पर्कमा आएका छन्।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार महिलाहरू सोमबार दिउँसो करिब १२:१५ बजे आफैं घर फर्किएका हुन्।
वडाध्यक्ष चौधरीले महिलाहरू च्याउ खोज्दै जंगलको भित्री क्षेत्रमा पुगेपछि बाटो बिर्सिएका कारण सम्पर्कविहीन भएको बताए। रातभर जंगलमै बिताएपछि उनीहरूले सोमबार घर फर्कन सफल भएका हुन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका दशरथ टोलका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार आइतबारदेखि सम्पर्कविहीन भएका थिए।
उनीहरू नौ जना र पाँच जनाको दुई समूहमा विभाजन भएर च्याउ खोज्न जंगल पसेका थिए। आइतबार बिहान करिब ११ बजे निकुञ्ज प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि स्थानीयवासी तथा प्रहरीले खोजी अभियान सुरु गरेका थिए।
नेपाल सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य जारी राखेकै बेला महिलाहरू सकुशल घर फर्किएका हुन्।
उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ को बागफाँटा पुगेको छ।
यसैबीच, आइतबार साँझदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि नेपाली सेनाले सकुशल उद्धार गरेको जनाएको छ। सोमबार बिहान उद्धार गरिएका उनीहरूलाई परिवारको जिम्मा लगाइएको सेनाले जनाएको छ।
निकुञ्ज क्षेत्रमा अवैध रूपमा च्याउ टिप्न प्रवेश गरेका ती महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासन खोजी अभियानमा खटिएका थिए।


