चितवन, ५ बैशाख। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुर क्षेत्र हुँदै जाने प्रस्तावित रेल लाइनको विषयलाई लिएर स्थानीयवासीहरू आतङ्कित बनेको बताएकी छन्।
पुलचोक–गोन्द्राङबीचको ६ लेन सडकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “रेल लाइन भरतपुरको बीच भाग भएर जान खोज्दा जनताको सम्पत्तिमा ठूलो नोक्सानी हुने देखिन्छ। नागरिक असुरक्षित महसुस गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा आयोजित कार्यक्रममा मेयर दाहालले भरतपुरवासीको पक्षमा महानगर कार्यपालिकाले स्पष्ट प्रस्तावसहित संघीय सरकारसमक्ष दुईवटा विकल्प अघि सारेको जानकारी दिइन्।
उनका अनुसार महानगर कार्यपालिकाले रेल मार्गलाई गोन्द्राङ–जङ्गल किनारा–आँपटारी हुँदै नवलपुर तथा अर्को गोलाघाट हुँदै नवलपुर लैजाने प्रस्ताव संघीय सरकारलाई पेश गरिसकेको सुनाईन । “यसमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसमक्ष पीडित नागरिकहरू राखेर अन्तरक्रिया पनि गरिएको थियो,” दाहालले भनिन्।
मेयर दाहालले प्रधानमन्त्री ओली समक्ष आग्रह गर्दै भनिन्, “महानगर कार्यपालिकाको निर्णयअनुसार नै रेल मार्ग अगाडि बढाइयोस्। नागरिकको सम्पत्ति, मनोविज्ञान र सुरक्षालाई ध्यानमा राख्दै योजना कार्यान्वयन हुनुपर्छ।”
उनले चितवन र भरतपुरका अन्य भौतिक पूर्वाधार परियोजनामा संघीय सरकारको विशेष ध्यान र बजेट विनियोजन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

