काठमाडौं, २६ असार । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरो ९सीआइबी०ले भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो।
ललिता निवास जग्गा प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ। यसअघि सिआइवीले तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र अरिदार नारायण दास मिश्रलाई पक्राउ गरेको थियो।
ललिता निवास जग्गा प्रकरणमा संलग्न ४ सय ६ विरुद्ध पक्राउ पूर्जी जारी भएसँगै मुलुकको उच्च पदमा रहेका व्यक्ति पनि समातिन थालेका हुन्। असार १२ यता ललिता निवास प्रकरणमा १७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ, समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही बनेका देवनारायण महर्जन, नक्कली मोही बाबुराजा महर्जन, नापी कार्यालयका तत्कालीन कर्मचारी घमनकुमार कार्की, तत्कालीन वडासचिव शिवजी भट्टराई, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। आइतबार सञ्चार सचिव कृष्णबहादुर राउत, धुव्रप्रसाद अर्याल र लोकहरि घिमिरेसमेत पक्राउ परेका थिए।
यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जनालाई हिरासतमा नै राखेर अनुसन्धान भइरहेको छ। यसअघि पक्राउ परेका मोलपोत अधिकृत सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर आफन्तको जिम्मा लगाएको थियो। उनीहरूले पक्राउ गर्न नमिल्ने स्टे अर्डर लिएर बसेका थिए।–00–


