
मस्यौदामा विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन तथा दीर्घकालीन तयारीका विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।
नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष, शाखा प्रमुख तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख विमला तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै जलवायु परिवर्तन अहिले विश्वव्यापी चुनौतीका रूपमा देखा परेको बताइन् । उनले पछिल्ला वर्षहरूमा असामयिक वर्षा, अत्यधिक गर्मी, सुख्खा, बाढी तथा अन्य प्राकृतिक विपद्का घटनामा वृद्धि हुँदै गएको उल्लेख गर्दै स्थानीय तहले समयमै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको धारणा राखिन् ।

उपप्रमुख तामाङले विपद् व्यवस्थापन केवल राहत वितरणमा सीमित हुन नहुने भन्दै पूर्वतयारी, जनचेतना, पूर्वसूचना प्रणाली तथा समुदायको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । उनले समुदायलाई सक्षम र सचेत बनाउँदै विपद् जोखिम न्यूनीकरणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् ।
कार्यक्रममा प्रस्तुत गरिएको मस्यौदामा कालिका नगरपालिकाभित्र रहेका सम्भावित विपद्का जोखिम क्षेत्रहरूको पहिचान, जोखिम न्यूनीकरण रणनीति, विपद् पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन, जलवायु अनुकूलन कार्यक्रम, वातावरण संरक्षण तथा स्थानीय स्रोत–साधनको परिचालनलगायत विषय समेटिएका छन् ।

प्रस्तुतीकरणका क्रममा नगर क्षेत्रमा विशेषगरी बाढी, डुबान, वन डढेलो, चट्याङ, हावाहुरी तथा मानव सिर्जित विपद्का जोखिम बढ्दै गएको औंल्याइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद रेग्मीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन अहिलेको सबैभन्दा संवेदनशील विषय बनेको बताए । उनले प्राकृतिक विपद्ले विकासका उपलब्धिहरूलाई क्षणभरमै क्षति पुर्याउन सक्ने भएकाले समयमै तयारी अपरिहार्य रहेको उल्लेख गरे ।
नगर प्रमुख रेग्मीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए । उनले तयार गरिएको योजना कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नगरपालिकाले सुरक्षित, व्यवस्थित र उत्थानशील कालिका निर्माणका लागि दीर्घकालीन रणनीतिसहित काम गरिरहेको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनलाई आगामी नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिने बताए । साथै, उक्त मस्यौदालाई नगरपालिकाको सम्पत्तिका रूपमा लिएर कार्यान्वयन गरिने पनि उनले बताए ।
कार्यक्रममा नेपाल प्रकोप जोखिम न्यूनीकरण केन्द्रका संयोजक कृष्ण घिमिरेले मस्यौदाबारे विस्तृत जानकारी गराएका थिए । नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राजेश कोइरालाले पटक–पटकको छलफल तथा सुझाव संकलनपछि मस्यौदा तयार गरिएको जानकारी दिए ।–00—


