देशभर मौसम बदली, मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

चितवन, ५ जेठ । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा देखिएको छ। देशका सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सोमबार (जेठ ६ गते) को मौसम पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

मधेस प्रदेशसहित कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना समेत रहेको जनाइएको छ।

मौसममा देखिएको यस्तो अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।

Share:

सम्बन्धित समाचारहरु