देशभर नयाँ मतदाता २ लाख ९ हजार नाघे, दर्ता अभियान कात्तिक ३० गतेसम्म जारी

काठमाडौं — देशभर थपिएका नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ पुगेको छ। मंगलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्।

निर्वाचन आयोगले मंगलबार राति ८ बजे संकलन गरेको विवरणअनुसार नयाँ मतदातामध्ये पुरुष १ लाख २२ हजार ७४० जना, महिला ८६ हजार ७८५ जना र अन्य २७ जना रहेका छन्।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि आयोगले विशेष गरी जेनजी (Gen Z) समूहलाई लक्षित गर्दै मतदाता नामावली संकलन अभियान गत असोज ९ गतेबाट सुरु गरेको हो। यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ।

आयोगका अनुसार १८ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेका नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन्। सार्वजनिक बिदाबाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नाम दर्ता खुला रहनेछ।

कानुनअनुसार मतदाता हुन योग्य व्यक्तिहरूले नयाँ नाम दर्ता गर्न सक्नेछन्। साथै, विवाह वा बसाइँ सराइका कारण स्थान परिवर्तन भएकाहरूले आफ्नो मतदाता क्षेत्र सार्न पाउने व्यवस्था पनि गरिएको छ। मतदाता नामावलीमा त्रुटि परेमा सच्याउने सुविधा पनि उपलब्ध छ।

नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको बढी चापलाई सहज बनाउन आयोगले दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा दुई सिफ्टमा १२ घण्टा सेवा दिने व्यवस्था मिलाएको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका थप १४ जना दर्ता कर्मचारी खटाइएका छन्। अन्य जिल्लामा पनि सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई थप जनशक्ति खटाउन अनुरोध गरिएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु