रेशम सापकोटा – सेतो नेपाल
चितवन, ११ भाद्र – चितवनको माडी नगरपालिका–११ बाबियोडाँडामा तीज मेला व्यवस्थापन समितिद्वारा आयोजित माडी स्तरीय तीज गीत, नृत्य तथा खेलकुद प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। श्री बालकल्याण आधार विद्यालयको मैदानमा बाबियोडाँडामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक, सामाजिक, सुरक्षा र सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वदेखि स्थानीयवासीसम्मको उल्लेख्य उपस्थिती रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य विद्या न्युरोले गर्नुभएको थियो, जसले उपस्थित सबैलाई औपचारिक रूपमा कार्यक्रममा स्वागत गर्नुभयो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथिले ब्यानर पढेर गर्नु भएको थियो।
प्रमुख अतिथिका रूपमा प्रदेश सांसद तथा शिक्षा तथा कृषि समिति सभापति माननीय ठाकुरप्रसाद ढकाल रहनुभयको थियो ।

विशिष्ट अतिथिमा माडी नगरप्रमुख खेमप्रसाद महतो, जिल्ला समन्वय समितिका सदस्य बाबुराम सुवेदी, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक जनक पुरी, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, वडा नं. ७ का वडा अध्यक्ष चन्द्रकुमारी बानिया, नगरप्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दण्डपानी पौडेल, वडा नं. ८ का अध्यक्ष वीरेन्द्रबहादुर भण्डारी, परु मध्यवर्ती सामुदायिक वनका अध्यक्ष काशी दत्त पोखरेल, देवेंद्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च भरतपुर चितवनका अध्यक्ष पूर्णप्रसाद पोखरेल, साविक अयोध्यापुरी–भरतपुर सम्पर्क मञ्च चितवनका उपाध्यक्ष लोकराज सापकोटा उपस्थित रहनु भएको थियो। माडीको युवा सुरक्षा निकायको उच्च पदमा पुगेको भनि वरिष्ठ प्रहरी उपरीक्षक जनकपुरीलाई कार्यक्रममा सम्मान गरिएको थियो।

प्रतियोगितामा खुला नृत्यतर्फ २४ जना प्रतिभाशाली सहभागी भए, जसमा सावित्री बिक प्रथम, अङ्कित ठकुरी र सिम्रा आचार्य द्वितीय भए भने तृतीय स्थान प्रतिभा बोर्डिङ स्कुलले प्राप्त गर्यो। सान्त्वना पुरस्कार प्रमिसा नेपाल र सोनाल अधिकारीलाई प्रदान गरिएको थियो।
तीज गीत समूह प्रतियोगितामा विद्याज्योति इङ्लिस स्कुल, बरुवा प्रथम, गौरवशाली आमा समूह, गोपालनगर द्वितीय र कला सांस्कृतिक समूह, बसन्तपुर तृतीय बने।
प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डलले गरेको थियो। मण्डलको संयोजक पूर्णप्रसाद पोखरेल रहनु भएको थियो भने सदस्यमा प्रेम बिष्ट र खुशबु आचार्य सहभागी थिए।
सांस्कृतिक कार्यक्रमअन्तर्गत तीज गीतमा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु १०,०००, रु ६,००० र रु ३,००० सहित प्रमाणपत्र प्रदान गरियो भने खुला नृत्यतर्फ क्रमशः रु ३,०००, रु २,०००, रु १,००० र रु ५०० प्रदान गरियो।

४० वर्ष माथिका सहभागीका लागि छुट्टै भलिबल प्रतियोगिताको पुरस्कार रु. १० हजार कृष्णनगरले प्राप्त गरेको थियो । खुला भलिबलतर्फ, माडी नगरपालिका वडा नं. २ को चौधरी ब्वाइजले पहिलो स्थान हासिल गर्दै ३० केजी तौलको खसी उपहार प्राप्त गरेको छ। दोस्रो स्थानमा माडी नगरपालिका वडा नं. ६ को सगरमाथा युवा क्लब विजयी भयो र पुरस्कारस्वरूप रु १०,००० प्राप्त गर्यो। कुर्सी चाल प्रतियोगितामा कविता अधिकारी र घैटोफोर प्रतियोगितामा प्रभात वस्याल विजयी भए।

कार्यक्रममा साँझपख आकस्मिक नृत्य र सांगीतिक प्रस्तुतिहरूले सहभागीहरू र दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले हरेक वर्ष तीज मनाउँदै आएको र महिलाहरूले समाज परिवर्तनका शक्ति भएकाले पर्वलाई भड्किलो नबनाई परम्परागत र सांस्कृतिक रूपमै मनाउन आग्रह गर्नुभयो। वडा नं. ७ का वडा अध्यक्ष चन्द्रकुमारी बानियाले मन्तव्य राख्दै तीजले समाजमा एकता र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा व्यक्त गर्नुभयो। देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चका सल्लाहकार समिति सदस्य लिलाधर आचार्यले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको समापन संयोजक गिरिधारी सुवेदीले गर्नुभएको थियो, जसले सहभागीहरूलाई धन्यवाद दिँदै प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबैलाई सम्मानपूर्वक सराहना गर्नुभयो। कार्यक्रम हरि रानाभाटले सञ्चालन गर्नुभएको थियो, जसले कार्यक्रमलाई सहज र लयात्मक रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निभाउनुभयो।
कार्यक्रमलाई रमाइलो बनाउँदै साँझपख लाखे नाच समेत गराइएको थियो, जसले उपस्थित दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गराएको थियो ।

