बाढी र पहिरोले देशभरका ६ स्थानमा सडक अवरुद्ध, ४ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौँ, ५  असार । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अन्य ४ स्थानमा सडक एकतर्फी सञ्चालनमा आएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका कोदारी, लार्चा र कोप्लाङमा पहिरो खस्दा तीन ठाउँमा सडक अवरुद्ध भएको छ। यस्तै, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ। सो क्षेत्रमा गाडीको लामो लाइन लागेका कारण यात्रुहरू अलपत्र परेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरोका कारण बेनी–जोमसोम सडक बन्द भएको छ भने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीले भेरी करिडोर पूर्ण रूपमा बन्द गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार धनकुटाको रवि–राके–भेटेटार सडक, काभ्रेको विपी राजमार्ग (धुलिखेल–बाँझोखेत), चितवनको नारायणगढ–मुग्लिन सडक (तुइन खोला र नाम्सी पुल क्षेत्र), गुल्मीको कालिगण्डकी करिडोर (बर्लबा) र जुम्लाको जुम्ला–मुगु सडक (चुलेल गाउँ) एकतर्फी सञ्चालनमा ल्याइएको छ।

प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका सडक खोल्ने प्रयास तीव्र रूपमा भइरहेको जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु