काठमाडौं, १३ बैशाख । सन् २०२१ मा अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिनु अघि त्यहाँ रहेका बेलायती दुतावासका कर्मचारीको रक्षामा खटिएका नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत नेपाल फिर्ता पठाएको खुलेको छ । करिब २० वर्ष लामो युद्ध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो र नेटो सेना फिर्ता गर्दै गर्दा तालिवानले अफगानिस्तानको नियन्त्रण आफ्नो हातमा ल्याएको थियो ।
त्यतिबेला अफगानिस्तानको अवस्था तनावपूर्ण थियो । तर, बेलायती दुतावासमा आफ्नो ज्यानको प्रभाव नगरी सुरक्षामा खटिनेमा १०० भन्दा बढी नेपाली नागरिक पनि रहेको बेलायती अखबार द गार्डियनले जनाएको छ । नागरिकहरूको उद्धार भएसँगै काबुलमा रहेका प्रमुख संस्थाहरूको सुरक्षा गर्ने सय बढी नेपाली र केही भारतीय नागरिकलाई आरएएफ उडानमार्फत बेलायत लगिएको थियो ।
तीमध्येका १०० भन्दा बढी नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत बेलायतले नेपाल पठाएको कुरा अहिले बाहिरिएको हो । जबकी तीमध्येका धेरैजसोलाई ६ महिनाको भिसा दिइएको थियो । तर, बेलायतले केही दिनमै निष्कासित गरिदिएको द गार्डियनले उल्लेख गरेको छ ।
द गार्डियनले त्यसरी निष्कासित गरिएका र नेपालमा आफ्नो ज्यान खतरामा रहेको ठान्ने केही गार्डहरूसँग अन्र्तवार्ता लिएको जनाएको छ । उनीहरूलाई बेलायतको नर्थह्याम्प्टन, रिडिङ, अक्सफोर्ड र स्विन्डन लगायतका इलाकाको होटेलका कोठाबाट जबरजस्ती निकालिएको बताइएको छ । त्यतिबेला कोभिड १९ को महामारीका कारण बेलायत जानेले अनिवार्य १० दिनको होटेल क्वारेन्टिन बस्नुपर्ने थियो ।
बेलायतले त्यतिबेला नेपाललाई रातो सूचीमा राखेको थियो र आफ्ना नागरिकहरूलाई भ्रमण नगर्न निर्देशन दिएको थियो । तर, सोही बेला ती गार्डहरूलाई भने नेपाल पठाइ दिएको थियो । तीमध्येका केहीले बेलायतमै रहेर शरण मागिरहेका छन् । गत महिना मार्चमै पनि काबुलमा बेलायती दुतावासका कर्मचारीहरूको सुरक्षा गरेका र हाल बेलायतमा बस्दै आएका करिब १० नेपाली गार्डलाई वेस्ट लन्डन होटेलमा छापा हानेर बेलायतको गृह मन्त्रालयले हिरासतमा लिएको थियो ।
बेलायतबाट जबरजस्ती निकालिएका सयभन्दा बढीले आफूलाई सहयोग गर्ने नेपाली सम्पदाका बेलायत निवासी रुद्र ढकाललाई गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद् यूएनएचसीआरलाई ताकेता गर्दै पत्र लेखेका थिए । पत्रमार्फत उनीहरूले बेलायतमा मानवीय सुरक्षा गरिदिन माग गरेका थिए ।
रोचक कुरा के भने, यसरी निकालिएका केही गार्डहरूलाई बेलायतमा रहन अनिश्चितकालीन छुट दिइएको थियो । अनिश्चितकालीन बिदाले बेलायतमा बस्न, काम गर्ने र अध्ययन गर्नेसम्मको अधिकार दिन्छ । गत मार्चमै पक्राउ गरिएकामध्ये दुई जनासँग पनि यो अनिश्चितकालीन बिदा उपलब्ध रहेको बताइएको छ ।–00–


