इनरुवा, १२ साउन । सुनसरीको देवानगञ्ज क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार जारी गरेको सूचनाअनुसार कर्फ्यु मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको हो।
साउन ११ गते राति ९ बजेदेखि देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश लागू गरिएको थियो। त्यस अवधिमा सर्वसाधारणको आवतजावतका साथै भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जनाएको छ। यद्यपि क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखिएको र शान्ति–सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था यथावत् रहने प्रशासनले स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा सबै नागरिकलाई शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्दै संयमित तथा जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ।
प्रशासनले कुनै पनि अफवाहमा विश्वास नगर्न तथा कानुन र सार्वजनिक शान्ति भंग हुने गतिविधिबाट टाढा रहन समेत सबै पक्षलाई अनुरोध गरेको छ।



