“नेपाल सधैं आतंकवादको विपक्षमा : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा”

काठमाडौं, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विपक्षमा रहेको स्पष्ट पार्नुभएको छ। उनले जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको नेपालले कडा शब्दमा निन्दा गर्ने बताउनुभयो।

भारतको कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार (वैशाख १३) भारतीय दूतावासले आयोजना गरेको शोकसभामा मन्तव्य दिँदै मन्त्री राणाले भनिन्, “नेपालले आतंकवादका सबै स्वरूप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ। जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी गतिविधिको नेपाल सधैं विपक्षमा उभिन्छ।”

शोकसभामा मन्त्री राणाले आतंकवादका विषयमा व्यवहार गर्दा दोहोरो मापदण्ड अपनाउन नहुने उल्लेख गर्दै नेपालले कुनै पनि आतंकवादी समूहलाई आफ्नाे भूमिको दुरुपयोग गर्न नदिन दृढ प्रतिवद्धता व्यक्त गर्नुभयो।

उहाँले पहलगाममा भएको आतंकवादी हमलाको नेपाल सरकारले पनि कडा शब्दमा निन्दा र भर्त्सना गरेको जानकारी दिनुभयो। साथै, यस दुःखको घडीमा नेपाल भारत सरकार र भारतीय जनतासँग ऐक्यबद्ध रहेको बताउनुभयो।

परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक नभई सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्यमा आधारित रहेको स्मरण गराउनुभयो।
“हाम्रा खुला सिमाना विश्वासका प्रतीक हुन् र पारिवारिक सम्बन्धहरूले आपसी नाता गाँसेका छन्,” मन्त्री राणाले भनिन्, “खुसी होस् या संकटको समय, नेपाल र भारत सधैं एकअर्काको साथमा उभिएका छन्।”

भूकम्पको बेला नेपाललाई सबभन्दा पहिले सहयोग गरेको देश भारत भएको उल्लेख गर्दै मन्त्री राणाले पहलगाम घटनामा मारिएका नेपाली नागरिक सुदीप न्यौपानेको शव तथा अन्य प्रभावित नेपालीलाई स्वदेश फर्काउन भारत सरकारले देखाएको सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो।

उनले आतंकवादी हमलामा ज्यान गुमाएका सबै व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु