झुवानीमा विद्यार्थीलाई आत्महत्या रोकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर, ६ असार । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना तथा रत्ननगर–५ को सहयोगमा गरिएको कार्यक्रममा १०३ जना विद्यार्थी सहभागी भएका थिए । झुवानी सामुदायिक पुस्तकालयको सहकार्यमा पहिलो दिन बुधवार टोल विकास संस्था र राजनीतिक दलका प्रतिनिधि र विहीबार विद्यार्थीलाई सचेतनामुलक प्रशिक्षण दिइएको हो ।

 

समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईले मनोसामाजिक सचेतना कार्यक्रमहरू वडाका सबै जनसमुदायसम्म लैजान आवश्यक रहेकाले कार्यक्रमको आयोजना गरिएको बताए । उनले पछिल्लो समय मानिसहरू डिप्रेसनमा पर्ने, झैझगडा गर्ने , पारिवारिक कलहमा फस्ने गरेको र आत्महत्यासम्म पुग्ने गरेको बताउँदै यस प्रकारका कार्यक्रमले यस्ता घटनाहरु रोक्नमा सहयोग पुग्ने बताए ।

 

वडा नं ६ का वडाध्यक्ष किरण महतोले विद्यार्थी मार्फत समाजमा सकारात्मक सोचको विकासका लागि कार्यक्रम फलदायी भएको बताए । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री राममणि खनालले जिल्लाका सवै वडा तह सम्म पुगेर रेडक्रस चितवनले मनोसामाजिक सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । उनले मानिसहरूमा बढ्दै गएको मानसिक समस्याका बारेमा बुझ्न रेडक्रसले गरेको यो प्रयासले समुदायमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

विद्यार्थीहरुलाई प्रशिक्षक रुद्र अधिकारी र सारदा शर्माले प्रशिक्षण दिएका थिए । उपशाखाका सभापति सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा झुवानी माविका प्रधानाध्यापक नवीनचन्द्र भट्टराई, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल लगायतले मन्तव्य राखेका थिए । उपशाखा बछौलीका सचिव मनोज चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Share:

सम्बन्धित समाचारहरु