काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य संख्या २ लाख ४१ हजार ७९९ पुगेको जनाएको छ। सौराहामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत प्रतिवेदनमार्फत यो तथ्यांक सार्वजनिक गरेका हुन्।
उनका अनुसार पार्टीका सातै प्रदेशमा सशक्त प्रदेश समिति गठन भइसकेका छन्। प्रतिवेदनमा भनिएको छ, “विभागहरू गठनको क्रममा छन्। डोल्पा, मनाङ र मुस्ताङ बाहेकका ७४ जिल्लामा जिल्ला समिति गठन भइसकेको छ। ती तीन जिल्लामा सदस्यहरू छन् र संगठन विस्तारका प्रयासहरू जारी छन्।”
महामन्त्री बुर्लाकोटीले पार्टीले अहिले वडा र पालिका अधिवेशनहरूको निरन्तरता दिइरहेको उल्लेख गरे। उनले भने, “केही जिल्लाहरू अधिवेशनका लागि तयार अवस्थामा छन्, तर अझै ४,४८७ वडा र २८९ पालिकामा संगठन निर्माण कार्य सम्पन्न गर्न बाँकी छ।”–00–


