काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अझै पनि केही वामपन्थी घटकलाई एउटै छातामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्।
भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले लामो गृहकार्य र छलफलपछि हालको पार्टी एकतासम्म आइपुगेको बताए। नेपालका अनुसार नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टी कुनै पुरानो पार्टीको रूपान्तरण नभई नयाँ सोच र दिशासहितको संगठन हो।
उनले सबै वामपन्थी घटकहरूलाई पार्टीमा समाहित हुन आह्वान गर्दै, विगतका कमीकमजोरी सुधार्दै परिवर्तनको संवाहक बन्ने लक्ष्य पार्टीले लिएको स्पष्ट पारे।
नेपालले वाम एकताको यो अभियानले देशमा स्थिरता, विकास र समाजवादको दिशा तय गर्ने विश्वास व्यक्त गरे।


