काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाहीको माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो । लामिछानेले अमेरिकी नागरिक रहेका बेला नेपालको पुरानो नागरिकतालाई प्रयोग गरेर १२ जेठ २०७२ मा नेपाली पासपोर्ट लिएका थिए ।
सर्वोच्च अदालतको शुक्रबारको फैसलाअनुसार उनको त्यो नागरिकता २०७० मै खारेज भइसकेको थियो । त्यही कारण सर्वोच्चले उनको सांसद पद समेत खारेज गर्ने फैसला सुनाएको छ भने लामिछानेले पनि नयाँ नागरिकता लिएका छन् ।
जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन र आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन माग गरिएको छ । लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गृहमन्त्री भएका थिए । उनि उम्मेदवार भएलगतै उनको नागरिकता विषयमा उजुरी परेको थियो ।