कोभिड–१९ का कारण चार महिनामा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द

चितवन , १५ बैशाख । कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १७ प्रतिशत कामदारले बिनासुविधा आफूले गरिरहेको काम छाड्नुपरेको छ भने ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायीरूपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिइयो ।

यस्तै ११ प्रतिशत कामदारको तलब सुविधा आंशिकरूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।

अहिले देशभर ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । त्यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४, पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा दुई हजार दुई सय २४ उद्योग प्रतिष्ठान रहेका छन् । –00–

Share:

सम्बन्धित समाचारहरु