काठमाडौं ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बुधबारबाट ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठक बिहान ८ बजेदेखि पुनः प्रारम्भ हुने भएको हो।
बुधबारको बैठकमा करिब ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। प्रत्येक वक्तालाई तीन मिनेटको समय दिइएको छ।
बैठकमा अधिकांश सदस्यहरूले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा जाने पक्षमा मत राखेका छन्। उनीहरूले पार्टीले चुनावबाट भाग्नु नहुने धारणा दिएका छन्।
तर, अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विशेष प्रस्तावमा संसद् पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने कुरा उल्लेख छ। अधिकांश सदस्यहरू भने ओलीको प्रस्तावको विपरीत मतमा देखिएका छन्।
बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय उल्ट्याउनुपर्ने माग पनि उठेको छ। यद्यपि, यो विषय बैठकको औपचारिक एजेन्डामा समावेश गरिएको छैन।
अध्यक्ष ओलीले प्रस्तावमा ११औँ महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने उल्लेख गरेका छन्। उनले महाधिवेशनको मिति प्रस्ताव गरेपछि नेतृत्व परिवर्तनको माग भने कम सुनिएको नेताहरूले बताएका छन्।


