होटल पौवाको १६औं शाखा चितवनमा सञ्चालनमा, तीन दिने ‘वृहत खाना प्रदर्शनी’ सुरु

चितवन । नेपाली आतिथ्य उद्योगमा निरन्तर अग्रणी भूमिका निभाउँदै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

एक विशेष समारोहका बीच प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा, कम्पनीमा पाँच वर्षदेखि हाउसकिपिङ विभागमा कार्यरत गीता विश्वकर्माले रिबन काटी उद्घाटन गर्नुभयो। कर्मचारीको सम्मानस्वरूप उद्घाटनको जिम्मेवारी आफ्नै कर्मचारीलाई दिइएको हो।

कार्यक्रममा बोल्दै होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण आर्थिक परिस्थिति र राजनीतिक अस्थिरताबीच पनि पौवाले पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताउनुभयो।
उनले थपे — “लगानी वातावरण कठिन भए पनि, पर्यटन क्षेत्रको गति रोक्नु हुँदैन भन्ने विश्वासमा हामी अघि बढिरहेका छौं।”


तीन दिने ‘वृहत खाना प्रदर्शनी’ सुरु

उद्घाटनको अवसरमा आजदेखि तीन दिनसम्म चल्ने ‘वृहत खाना प्रदर्शनी’ पनि सुरु गरिएको छ।
नेपाली परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनीमा चितवन, नवलपुर र आसपासका करिब ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको होटल पौवाका ब्र्यान्डिङ प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार पहिलो दिन नै विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रममा जुम्ला, बुटवल, पाल्पा, काठमाडौं लगायत १६ शाखाका स्टलहरू राखिएका छन्, जहाँ विविध स्वादका नेपाली परिकार निःशुल्क रुपमा पाहुनालाई स्वाद लिन पाइनेछ।
भण्डारीले आगामी दुई दिनमा सहभागीको संख्या झन् बढ्ने विश्वास व्यक्त गर्नुभयो।


होटलको संरचना र सुविधा

भरतपुरस्थित नयाँ शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक निर्माण गरिएको छ। आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने स्थान, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ।

विवाह, ब्रतबन्ध र कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हलसहित साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हलहरू पनि उपलब्ध छन्। निकट भविष्यमा १२ कोठाको थप आवास भवन निर्माण कार्य अघि बढाइनेछ।

शाखाले सौराहा, मौलाकाली, मनकामना लगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य समेटिएका विशेष टुर प्याकेजहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ।


पौवाको यात्रा र भविष्यका योजना

रुपन्देहीको सालझण्डीबाट सुरु भएको होटल पौवाको यात्रा आज देशभर १६ शाखामा विस्तार भइसकेको छ।
यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन्।

हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन छ, जसको ब्यांक्वेट र रेस्टुरेन्ट सेवा भने सुरु भइसकेको छ।
त्यस्तै, पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्डस्केपिङ कार्य भइरहेको छ।


रोजगारी र ‘भातभान्छा’ अभियान

देशभर करिब १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा हाल २५० भन्दा बढी लगानीकर्ता संलग्न छन्।
स्थानीय खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्ज र भैरहवामा महिला सेफहरूबाट तयार हुने ‘भातभान्छा’ कार्यक्रम पनि सुरु गरिएको छ, जसमा दाल, भात, तरकारी, अचार जस्ता परम्परागत नेपाली खानालाई प्राथमिकता दिइएको छ।


समारोहमा उपस्थित अतिथिहरू

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे, तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।–00—

Share:

सम्बन्धित समाचारहरु