काठमाडौं, ४ बैशाख । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित पक्राउ परेका ट्रक चालकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
सिन्धुपाल्चोकको ‘फुच्चे’ भनिने कुसाङ लामा नामक ४३ वर्षीय ट्रक चालकलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा चीनतर्फ लैजाँदै गरेको अवस्थामा लुकाइछिपाइ राखिएको विदेशी मुद्रा बरामद भएपछि लामालाई प्रहरीले पक्राउ गरेको थियो। उनले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाई उक्त रकम ओसारपसार गरिरहेका थिए ।
बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।–00–

