कालिका नगरपालिका चितवन जिल्लामा समग्र स्वास्थ्य सेवा प्रवाहमा पहिलो

भरतपुर । चितवन जिल्लाका स्थानीय तहहरूबीचको समग्र स्वास्थ्य सेवा प्रवाह मूल्याङ्कनमा कालिका नगरपालिका पहिलो स्थानमा रहेको छ। जनस्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य क्षेत्रको कार्यसम्पादन मूल्याङ्कनमा कालिका नगरपालिकालाई जिल्लाको उत्कृष्ट पालिका घोषित गरेको हो।

जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेका अनुसार, स्वास्थ्य क्षेत्रका सबै सूचकमा उत्कृष्ट प्रदर्शन गर्न सकेका कारण कालिका नगरपालिका पहिलो हुन सफल भएको हो। मूल्याङ्कनमा माडी नगरपालिका दोस्रो र खैरहनी नगरपालिका तेस्रो स्थानमा परेका छन्।

‘यो उपलब्धि कुनै एक स्वास्थ्य संस्थाको मात्र होइन, कालिका नगरपालिकाको सम्पूर्ण स्वास्थ्य प्रणालीकै सफलताको परिणाम हो,’ प्रशासक घिमिरेले भने। उनका अनुसार, मूल्याङ्कनका क्रममा सयभन्दा बढी साना र १२ भन्दा बढी प्रमुख सूचकका आधारमा नतिजा तय गरिएको हो।

मूल्याङ्कनका सूचकहरूमा मातृशिशु स्वास्थ्य, पूर्ण खोप, रोग नियन्त्रण, सरसफाइ र जनचेतना, स्वास्थ्य संस्थामा सुत्केरी हुने दर, पोषण, औषधि वितरण प्रणाली, सेवा विस्तार, बाल तथा मातृ मृत्युदर र स्वास्थ्य प्रणाली सुदृढीकरणका अवस्था समावेश गरिएका थिए। साथै, जिल्ला जनस्वास्थ्य समितिको समीक्षा बैठकमा प्रस्तुत विवरण, स्वास्थ्यकर्मीको सहभागिता र कामको परिणाम पनि मूल्याङ्कनमा समावेश गरिएको थियो।

जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा कालिका, माडी र खैरहनी नगरपालिकालाई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा रहँदा सम्मान गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कालिका नगरप्रमुख विनोद रेग्मीले स्वास्थ्यकर्मीको अथक परिश्रम र नगरपालिकाको स्वास्थ्यप्रतिको प्राथमिकताका कारण यो सफलता सम्भव भएको बताए।
‘नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट व्यवस्था गर्दै आएको छ। चेपाङ समुदायमा विशेष स्वास्थ्य जागरण कार्यक्रम सञ्चालन गरेका छौँ,’ प्रमुख रेग्मीले भने, ‘पोषणदेखि पूर्ण खोपसम्मका कार्यक्रम प्रभावकारी बनेका छन्, यही कारण कालिका नगरपालिका जिल्लामा पहिलो हुन सफल भयो।’

नगर स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार, चार प्रमुख काम प्रभावकारीरूपमा सम्पन्न भएकाले कालिका अग्रस्थानमा आउन सफल भयो।
‘लुकेका क्षयरोगी पत्ता लगाउनु, चेपाङ बहुल वडामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्नु, पाँच वर्षमुनिका बालबालिकाको निमोनिया र झाडापखाला उपचार स्वास्थ्य संस्थामै गर्नु र घरमै हुने सुत्केरीको संख्या घटाउनु—यी मुख्य उपलब्धिहरू हुन्,’ भण्डारीले भने।

यसबाहेक कालिका नगरपालिकाले समयमै पूर्ण खोप घोषणा कार्यक्रम सम्पन्न गरेको, दुई वर्षमुनिका सबै बालबालिकाको तौल लिने र तौल नपुगेकाको उपचार समयमै गर्ने कार्य पनि सम्पन्न गरेको थियो। सरसफाइ, स्वास्थ्य जनचेतना, औषधि वितरण र वृद्धवृद्धाका लागि स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन पनि प्रभावकारी भएका थिए।

समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपकबाबु तिवारीलगायतले उत्कृष्ट पालिकाहरुलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए।–00–

Share:

सम्बन्धित समाचारहरु