उखु किसानको सम्पूर्ण भुक्तानी असारभित्रै हुने : मन्त्री गीता चौधरी

काठमाडौं, १९ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउन बाँकी सम्पूर्ण भुक्तानी चालु आर्थिक वर्षभित्रै, अर्थात् असार मसान्तसम्म उपलब्ध गराइने बताएकी छन्।

शुक्रबार राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्दै मन्त्री चौधरीले उखु किसानको बाँकी रकम भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमै सबै प्रक्रिया टुंग्याइने जानकारी दिइन्।

उनका अनुसार यस वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदैछ। साथै, किसानले जुन आर्थिक वर्षमा उखु क्रसिङ गराएका हुन्, सोही वर्षभित्र भुक्तानी सुनिश्चित गर्ने व्यवस्था गरिएको उनले बताइन्।

मन्त्री चौधरीले विगतमा उखु क्रसिङ सम्पन्न भएको अर्को आर्थिक वर्षमा मात्र अनुदान भुक्तानी हुने अभ्यास रहे पनि यस वर्ष त्यसलाई परिवर्तन गरी चालु आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको स्पष्ट पारिन्।

उनले सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै निकासा गरेर सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा भएपछि रकम किसानको बैंक खातामा जम्मा गरिने बताइन्।

उखु मिलहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल २० रुपैयाँमध्ये करिब ९३ प्रतिशत रकम भुक्तानी गरिसकेको पनि मन्त्री चौधरीले जानकारी दिइन्। त्यस्तै, सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको निकासा भइसकेको र वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

मन्त्री चौधरीका अनुसार एक अर्ब ५१ करोड रुपैयाँ बराबरको अनुदान भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। केही किसानको बैंक खाता, पान नम्बर तथा अन्य प्राविधिक विवरण नमिलेका कारण सीमित रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान हुनासाथ बाँकी रकम पनि किसानको खातामा जम्मा गरिने बताइन्। –00–

Share:

सम्बन्धित समाचारहरु