चितवन । चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकै भवनबाट सञ्चालनमा आएका छन्। भरतपुर-१०, विमानस्थल अगाडि रहेको सो कम्प्लेक्सबाट दुवै सेवा आजदेखि आधिकारिक रूपमा प्रारम्भ गरिएको हो।
सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा चितवन बिजनेस कम्प्लेक्स होटल प्रा.लि. (सिबिसी) र चितवन बिजनेशन मार्टले सहकार्यमा सञ्चालन गरेको यो परियोजना बारे जानकारी दिइयो। कम्पनीका कार्यकारी अध्यक्ष दिनुप बरालका अनुसार १ लाख ७ हजार स्क्वायरफुट क्षेत्रमा फैलिएको उक्त कम्प्लेक्समा दुई तला अण्डरग्राउण्ड पार्किङ, तीन तला सेल्सबेरी सुपरमार्केट र छ तला होटल सञ्चालनमा ल्याइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशमा सेवा विस्तार गरिरहेको लड्र्स हस्पिटालिटीसँग सहकार्यमा सुरु गरिएको यस होटलमा ५८ कोठा रहेको छन्। जसमा १ प्रेसिडेन्टियल, ३ स्वीट, १० सुपर डिलक्स, १५ प्रिमियम र बाँकी स्ट्यान्डर्ड कोठा समावेश छन्। उद्घाटन वर्ष २०२५ भरि होटल सेवामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
होटलभित्र ५०० क्षमताको सभा हल, १०० क्षमताको कन्फरेन्स हल, ३०-३० क्षमताका तीन बैठक कोठा र १२५ जना एकैपटक बस्नसक्ने रेस्टुरेन्ट सुविधा उपलब्ध छन्। साथै, भवनको माथिल्लो तलामा स्वीमिङ पूल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।
सो कम्प्लेक्सभित्रै सञ्चालनमा आएको सेल्सबेरीको यो ३८औँ शाखा हो। यहाँ ग्रोसरी, हाउसवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा लगायत घरायसी सामग्री पाइनेछन्। निकट भविष्यमा कपडा तथा फर्निचर पनि थपिने जानकारी दिइएको छ। दशैं–तिहार लक्षित अफरअन्तर्गत ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
अण्डरग्राउण्ड पार्किङमा ८० वटा कार र करिब २०० दुई पाङ्ग्रे सवारीसाधन अट्ने सुविधा छ।
यस परियोजनामा करिब १६० करोड रुपैयाँ लगानी भएको र सो मध्ये २५ करोड रुपैयाँ सेल्सबेरीमा मात्रै लगानी भएको अध्यक्ष बरालले बताए। स्थानीय १८ जना व्यवसायीको लगानी रहेको यस व्यवसायमा लक्ष्मी सनराइज बैंकले पनि सहकार्य गरेको छ।
चितवनको तीव्र शहरी विकास र उपभोक्ताको बदलिँदो ‘सपिङ्ग कल्चर’लाई ध्यानमा राखी आधुनिक सुविधा विस्तार गर्न यो परियोजना अघि बढाइएको कम्पनीको भनाइ छ। साथै, कम्पनीले आगामी दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत व्यक्त गरेको छ।—00–


