सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै श्रेष्ठले रास्वपा नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन्।

श्रेष्ठले लेखेकी छन्, “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाँडे।”

उनको आरोपअनुसार पार्टी नेतृत्वले गल्तीहरू स्वीकार नगरी निरन्तर गल्ती दोहोर्याउने गरेको छ। उनले पार्टी केन्द्रीय समितिलाई पत्रमार्फत जानकारी गराउँदै भनिन् कि आफूलाई यस्तो प्रवृत्ति स्वीकार्य नभएकाले पार्टी छाड्ने निर्णय लिनु परेको हो।

श्रेष्ठले थप आरोप लगाउँदै भनिन्, “पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्ध मिडिया ट्रायल चलाउने, दु:ख दिने र नेतालाई सर्वोपरि राख्ने प्रवृत्ति मौलाउँदै गएको छ।”

उनले पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेता राख्न थालेको बेलादेखि नै आफू आलोचनामा उत्रिएको उल्लेख गरेकी छन्।

यसअघि उनी रास्वपाको सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। समानुपातिक प्रणालीमार्फत सांसद बनेकी श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्रीसमेत बनेकी थिइन्।–00–

 

Share:

सम्बन्धित समाचारहरु