घटनाको दिन बिहान के भएको थियो ?

शालिनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

प्रतिमा सिलवाल- 

चितवन, १८ फागुन । रत्ननगर नगरपालिका १० को एकता शिशु निकेतनको छात्राबासभित्र मृत भेटिएकी बालिका शालिन पोखरेलको बलात्कारपछि भएको आरोप उनका परिवार तथा आफन्तले लगाइरहँदा प्रहरीको अनुसन्धानले भने आत्महत्याकै संकेत गरेको छ । उनी कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको तेस्रो दिन आफन्तले दिएको किटानी जाहेरी दर्तापछि गरेको अनुसन्धानका क्रममा आत्महत्या नै हुनसक्ने निष्कर्ष नजिक प्रहरी पुगेको हो । यद्यपि किटानी जाहेरी परेका आधारमा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्राबास वार्डेन पक्राउ परेका छन् ।

चितवन प्रहरीले शालिनको शवसँगै सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा लेखिएको छ, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मीबाबालाई सम्झिएको छ भनिदिनु ‘।’ प्रहरीले सुसाइड नोटसँग उनले यसअघि लेखेका नोट कपीहरुका अक्षर दाँज्दा अक्षर मिलेको पनि बताएको छ । यद्यपि परीक्षणको लागि पनि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए ।

प्रहरीले विद्यालयकै सीसी क्यामराको फुटेज पनि हेरिसकेको छ । सीसी क्यामराको फुटेजमा पनि उनी एक्लै छात्राबासको कोठामा छिरेको देखिएको घटनामा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

घटनाको दिन बिहान के भएको थियो ?

१४ वर्षीया शालिन गत शनिबार बिहान करिब १० बजेको समयमा मृत अवस्थामा भेटिएकी हुन् । स्काउटको डोरीले झुण्डिएको अवस्थामा उनी भेटिएकी प्रहरीको भनाइ छ । दुई वर्षअघि उक्त विद्यालय भर्ना भएकी शालिनसँगै छात्राबासको एउटै कोठामा बस्ने तीन साथी थिए । उनी मृत भेटिनुअघिको एउटा घटना प्रहरीसँग उनका दुई साथीले बताएका छन् ।

ती दुई साथीका अनुसार छात्राबासको कोठा एउटै भए पनि उनीहरु तीन जनाको आआफ्नो सामान राख्ने बेग्लाबेग्लै बाकस रहेको थियो । उनीहरु तीनै जनाले खाना खानुअघि बिहान करेन्ट चाउचाउ खाने सल्लाह गरे । जुन साथीले चाउचाउ खाउँ भनेकी थिइन्, उनको बाकसबाट चाउचाउ निकाल्न खोज्दा नभेटिएपछि कता छ भन्ने खोजी भयो ।

साथीको बाकसमा चाउचाउ नभेटिएपछि उनले सोही छात्राबासमा बस्ने आफ्नो भाइलाई पनि सोधिन् । भाइले लगेको छैन भनेर सबैको बाकस खोजी गर्दा शालिनको बाकसमा भेटिएको बयान उनीहरुले प्रहरीलाई दिएका छन् । त्यसपछि सबैको सल्लाहमा यो कुरा शिक्षकलाई पनि नभन्ने सहमति गरी तीनै जना खाना खान तेस्रो तल्लामा रहेको छात्राबासको कोठाबाट ओर्लिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

तर, दुई जना चौरतिर जाँदा शालिन खाना नखाई कोठामै फर्किइन् । त्यसपछि ढोका खुलेन । होस्टल वार्डेनलाई उनीहरुले खबर गरे । त्यसपछि ढोका फोर्दा झुण्डिएको अवस्थामा भेटिएको उनीहरुले प्रहरीलाई बताएका छन् । घटना भएको थाहा पाएपछि पुगेको प्रहरीले पनि कोठा बाहिरबाट फोडिएको अवस्थामा भेटिएको जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षण प्रतिवेदन कुर्दै प्रहरी

मृत्युको प्रारम्भिक अनुसन्धानमा हत्याको प्रमाण नभेटिएपछि यौनजन्य दुर्व्यवहार वा बलात्कार भए नभएकोबारे पनि प्रहरीले अनुसन्धान गरेकोछ । यौनजन्य दुव्र्यवहारबारे स्वास्थ्य परीक्षण प्रतिवेदनपछि मात्रै भन्न सकिने प्रहरी अधिकारी बताउँछन् ।

‘फरेन्सिक रिपोर्टको प्रतिवेदनपछि मात्रै हामीले यस विषयमा भन्न सक्छौँ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘आइतबार, सोमबारतिर प्रतिवेदन आएपछि थप अनुसन्धान परिपक्व होला ।’–00–

नेपाल प्रेस

Share:

सम्बन्धित समाचारहरु