चितवनमा तीन महिनाको अवधिमा बलात्कारपछि तीन महिलाको मृत्यु

चितवन, असार ६

चितवनमा तीन महिनाको अवधिमा ३ जना महिलाको बलात्कारपछिको उपचारका क्रममा मृत्यु भएको छ । इच्छाकामना–३, खैरहनी–१० र राप्ती–१ की महिलाको बलात्कार घटनापछि भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–३ की ७१ वर्षीया महिलालाई अस्वस्थ भएपछि परिवारले उपचारका लागि भरतपुर अस्पताल ल्याएका थिए । उपचारका क्रममा ती महिलाले आफ्ना नातेदार अर्की महिलालाई आफू बलात्कृत भएको बताइन् । त्यसको केही दिनपछि उनको मृत्यु भएको हो । घटनाका आरोपित हाल पुर्पक्षका लागि थुनामा छन् ।

त्यस्तै, खैरहनी नगरपालिका वडा नं–१०, कठारस्थित मुसहरबस्तीकी ३५ वर्षीया गीता माझीको १६ गते राति मृत्यु भयो । जेठ १२ गते मादक पदार्थ सेवन गरी आएका श्रीमान् रामचन्द्र माझीले बलात्कार गरेको र निर्घात कुटाइबाट घाइते उनको भरतपुर अस्पतालमा उपचार भएको थियो । गीताकी छोरी पुष्पा माझीले मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनमा जबर्जस्ती करणी र कर्तव्य ज्यानअन्तर्गत छोरी उजुरी दिएकी छन् ।

भरतपुर अस्पतालमा उपचाररत एक हिंसापीडित महिलाको जेठ ३१ गते मृत्यु भयो । राप्ती नगरपालिका–१ की २७ वर्षीया महिलाको जेठ २० गते भरतपुर अस्पतालमा उपचार थालिएको थियो । ती महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुरका ४५ वर्षीय पूर्णबहादुर घलान पक्राउ परेका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले उपचारका क्रममा स्वास्थ्यमा जटिलता हुँदा बलात्कृत महिलाको ज्यान जाने गरेको बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु