चितवन, भदौ २४ – जेन–जीले चितवन बन्दको घोषणा गरेको छ । सार्वजनिक अपिलमार्फत गरिएको आह्वानअनुसार सोमबार बिहानदेखि चितवन तनावग्रस्त बनेको हो ।
भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रदर्शनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका छन् । घाइतेहरूको उपचार चितवन मेडिकल कलेजसहित विभिन्न अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सबै घाइतेको अवस्था सामान्य छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेन–जीले महानगरपालिका कार्यालयमा ढुंगामुढा गरेपछि परिस्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
साँझ लायन्सचोकमा टायर बालेर पनि प्रदर्शन गरिएको थियो । चितवनमा आज पनि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । आवश्यक परे कफ्र्यू समेत लगाउने तयारी रहेको प्रजिअ अर्यालले बताए ।
यसैबीच, आन्दोलनका कारण असहज अवस्था सिर्जना भएको भन्दै प्याब्सन चितवनले आज सबै संस्थागत विद्यालय बन्द गर्ने घोषणा गरेको छ । प्याब्सनका अध्यक्ष मदन पुरीका अनुसार विद्यार्थीको मृत्यु भएको घटनाप्रति शोक प्रकट गर्दै विद्यालय एक दिनका लागि बन्द गरिएको हो ।–00–


