कालिकामा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न, विद्यार्थीमा सडक सुरक्षाप्रति चेतना अभिवृद्धि

चितवन, कालिका – सडक दुर्घटना न्यूनीकरणका लागि जनहित राष्ट्रिय माध्यमिक विद्यालय, कालिका नगरपालिका वडा नं–३ र लुमन्तीले इलाका प्रहरी कार्यालय टाँडीको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश वाइवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित रहे।

कार्यक्रममा वडा सदस्य बुद्धिप्रसाद ढकाल, लिला दमाई, लुमन्ती चितवनका कार्य क्षेत्र संयोजक सिंह वाइवा, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष मानवबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा लुमन्तीका सामुदायिक परिचालक विकास रानामगरले कार्यक्रमको उद्देश्यबारे स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका बाल क्लब अध्यक्ष सबिना बमजन, स्काउट अध्यक्ष अस्मी थापामगर, जुनियर रेडक्रस सर्कलका सभापति सुष्मा थिङसहित करिब १२० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

 

ट्राफिक प्रहरी नायब निरीक्षक सुरेन्द्र प्रसाद कोइरालाले सडक दुर्घटनाको अवस्था, दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति, ट्राफिक नियम र संकेतहरूको महत्वबारे विद्यार्थीसँग संवाद गरेका थिए।

उनले यात्रु, सवारी चालक र पैदल यात्री सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै ट्राफिक सचेतनाको अभावका कारण विशेषगरी बालबालिका दुर्घटनाको उच्च जोखिममा पर्ने जानकारी गराए।

“विश्वभर बार्षिक ४ करोडभन्दा बढी मानिस सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन्। यान्त्रिक गडबडी, चालकको लापरबाही र सडकको कमजोर अवस्थाका कारण दुर्घटनाको संख्या बढ्दो छ,” कोइरालाले भने।

उनले बाल्यकालदेखि नै ट्राफिक सचेतना दिने अभ्यासले दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षाप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै विद्यालय, प्रहरी र समुदायबीच समन्वयात्मक सम्बन्ध सुदृढ गरेको विद्यालयले जनाएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु